१५ पुष २०८२, मंगलवार

नेकपा स्थायी समितिमा भीम रावलद्धारा समेत फरक दस्तावेज प्रस्तुत



काठ्माण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा स्थायी समिति सदस्य भीम रावलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको कडा आलोचना गरेका छन् ।
स्थायी समिति सदस्य रावलले पनि फरक दस्तावेज प्रस्तुत गरेका छन् ।मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकमा रावलले १४ पृष्ठ लामो फरक दस्तावेज पेस गरेका हुन् ।
नेता रावलले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफ्नो लिखित सुझाव पेस गर्दै मनोमानी तरिकाले सचिवालय गठन गरिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् । उनले पार्टी संगठन निर्माण र नौ महिना अघि गठन भएको सरकारका समीक्षासहितका विषयलाई दस्तावेजमा समेटेका छन् ।
‘पार्टी एकीकरणको पूर्वसन्ध्यामा नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा सचिवालय गठन गर्ने र महासचिव नियुक्ति गर्ने कुरा भएको थिएन । दुई जना अध्यक्ष रहने निर्णय भएको थियो । उक्त निर्णयमा तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पनि सहमति भएको जानकारी गराइएको थियो । तर, पछि मनोमानि किसिमले सचिवालय गठन गरियो’, रावलले पेस गरेको दस्तावेजको पहिलो बुँदामा भनिएको छ ।
रावलको दस्तावेजमा विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ)को एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा पार्टीका नेता तथा सरकारका सहभागितालाई लिएर पनि आलोचना गरिएको छ । युपिएफको कार्यक्रममा नेता तथा सरकारको सहभागिता के कति कारणले राजनीतिक र कुटनीतिक रुपमा गल्ती हो भन्ने कुरालाई उल्लेख गरिएको छ ।
यसअघि सचिवालय सदस्य वामदेव गौतमले पनि बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका थिए । दस्तावेजमा गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका चर्को आलोचना गरेका छन् । उनले एक व्यक्ति एक पदअनुसार पार्टी अघि बढाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली बनेपछि अध्यक्षको भूमिका एकल रुपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्ने माग गरेका छन् ।
शनिबारबाट शुरु भएको स्थायी समितिको बैठकमा अध्यक्षद्वयले पेस गरेका प्रतिवेदनमा फरक मत राख्दै गौतम र रावलले वैकल्पिक प्रतिवेदन पेस गरेका हुन । दुवै प्रतिवेदनमा पार्टीलाई विधिपूर्वक सञ्चालन गर्न र सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन माग गरिएको छ ।
रावलले बैठक समेत कार्यसूची बिना आएको भन्दै आलोचना गरेका छन् । केन्द्रीय कमिटीले पारित नगरेको विधान कसरी पारित गरियो भन्दै नेता रावलले प्रश्न उठाएका छन् । नेता रावलले अध्यक्षद्वयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि ३५ बुँदे सुझाव पेस गरेका हुन् ।
बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित बैठक भोलि बिहान ८ बजे पुनः पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । सदस्यहरुले बोल्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार