फुटवल पेनाल्टी सुटआउट प्रतियोगिता हुँदै
धनगढी । कैलालीको कैलारी गाउँपालिकामा थारू सांस्कृतिक प्रदर्शनी तथा फुटवल पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ ।
‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने नाराका साथ माघी पर्वको अवसरमा सो कार्यक्रम गरिने आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
आयोजक समितिका संयोजक पञ्चराम चौधरीले थारू संंस्कृतिको संरक्षण तथा प्रवर्द्धन, स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग र स्थानीय स्तरमा रहेका खेलप्रेमी तथा खेलाडीहरूको पहिचान गर्न सो प्रतियोगिता आयोजना गरिएको बताए ।
पुस ३० गते आयोजना हुने प्रतियोगितामा ४० टीमको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा ३० वर्ष माथिका खेलाडीलाई मात्र समावेश गरिने छ ।
प्रतियोगितामा एक टीमबाट छ जना खेलाडीले भाग लिन पाउने संयोजक चौधरीले बताए । जसमा एक जना गोल किपर र पाँच जनाले मात्र पेनाल्टी सुटआउन हान्न पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख एक हजार एक सय ११ र दोस्रो हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, वेष्ट किपर र वेष्ट स्कोररलाई जनही पाँच/पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । खेल फिफाको नियमानुसार खेलाइने छ । प्रतियोगितामा प्रवेश शुल्क पाँच हजार तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अघि र्याली तथा सांस्कृतिक झाँकी सहित बजार परिक्रमा गरिने र सो पश्चात औपचारिक कार्यक्रमको आयोजना गरेर समुद्घाटन गरिने संयोजक चौधरीले बताए ।
सांस्कृतिक कार्यक्रममा २० वटा टोलीले सहभागिता जनाउने छन् । झुम्रा परम्परागत तथा आधुनिक, सखिया परम्परागत तथा आधुनिक, मुंग्रहवा, धमार, मघौटा, राना होरी नाच, कठरिया होरी नाच लगायतका अन्य थारू सांस्कृतिक झाँकीहरू प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।




