कैलाली उवासंघको निर्वाचन अन्योल
धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको अझैं टुंगो लाग्न सकेको छैन । संघको सदस्यताबारे अदालतमा मुद्दा दर्ता भएपछि स्थगित भएको निर्वाचनको मिति अझै निश्चित हुन सकेको छैन ।
यसैबीच, संघको सदस्यता सम्बन्धी छानबिन चलिरहेको अवस्थामा सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि छलफल सुरु भएको छ । संघको वर्तमान कार्यसमितिका पदाधिकारी, सल्लाहरका तथा व्यवसायीहरूबीच नयाँ नेतृत्व सर्वसम्मत ढंगले चयन गर्न छलफल जारी रहेको जनाइएको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले संघको पहलमा संघका पदाधिकारी, सल्लाहकार, व्यवसायीको वैठकले सर्वसम्मत नेतृत्व चयनका लागि एउटा समिति समेत गठन गरेको जानकारी दिए ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि गठित समितिमा संघका सल्लाहकारद्वय मायाप्रकाश भट्ट र टेकराज जोशी तथा संघका वरिष्ठ उपाध्यक्ष हिक्मत कँुवर, उपाध्यक्ष रुक्मणि देवकोटा तथा व्यवसायी रविनकान्त पन्त सदस्य रहेका छन् ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत ढंगले चयन गर्नका लागि भएको छलफलमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू तथा मुद्दा दर्ता गर्ने पक्षलाई बोलाइएको भए पनि अधिकांस अनुपस्थित रहेका थिए ।
यस अघि संघका वर्तमान महासचिव रूपेश स्वाँर तथा कोषाध्यक्ष पुष्पराज कुँवर प्यानल सहित उम्मेदवारी घोषणा गरी चुनावमा होमिएका बेला गत बैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनाव सदस्यता विवादको विषयमा मुद्दा परेपछि स्थगित भएको थियो । संघले पुसभित्रै नयाँ निर्वाचन गर्ने तयारी गरेको छ ।