काठको डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य
अछाम । जिल्लाकै विकट मानिने तुर्माखाँद गाउँपालिका वडा नम्बर २, भुलुका नागरिकहरु कर्णाली नदीमा झोलुंगे पुल नहुंदा काठको डुंगामा जोखिमपूर्ण रुपमा नदी तर्न बाध्य छन् । गाउँबाट बाहिर जानका लागि कर्णाली राजमार्गसम्म पुग्नका लागि भुलुबासीले कर्णाली किनारको सिमखेत नजिकै जाङ्सोमा काठको डुंगा तर्नुपर्छ ।
परापूर्व कालदेखि नदी तर्न प्रयोग हुने काठको डुंगामा यात्रा गर्दा मान्छेहरु निकै त्रसित हुने गर्दछन् । स्थानीय लालबहादुर शाहीले भने ‘सामान्य काठको मुढाबाट बनाईएको डुंगामा कतिखेर के हुने हो पत्तै हुादैन, यसरी नदी पार गर्नु असाध्यै जोखिमपूर्ण छ ।’
भुलुका पदमसिंह विष्ट कर्णालीमा डुंगा चलाएर बसेको वर्षौँ भइसक्यो । डुंगामा मानिसहरुलाई वारपार गराउनु उनको नित्य कर्म जस्तै हो । उनले भने ‘भुलुका स्थानीयलाई नदी तर्नका लागि कि त घण्टौँ लगाएर पुल भएको ठाउँ पुग्नुपर्छ नभए यही काठको डुंगाकै सहारा हो ।’
बाल्यकालदेखि नै डुंगा चलाउन सुरु गरेका विष्टले गाउँको सहजताका लागि झोलुंगे पुल चाँडो निर्माण हुनुपर्ने बताए । पुल निर्माण चाँडै भएको खण्डमा सामान ओसार–पसार र मानिस आवतजावतका लागि सहज हुने उनको विश्वास छ ।
तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा अब छिट्टै नै भुलुगाउँको सहजताको लागि सिमखेत नजिकै पुल निर्माण गर्ने प्रक्रियामा रहेको बताए । झोलुंगे पुलका लागि केही सामानसमेत आइसकेको उनले जानकारी दिए ।
गाउँगाउँमा स्थानीय तहमार्फत जनताको सरकार आएको परिवेशमा विकट र दूरदराजमा रहेका नागरिकको सहजताका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।