सरकारले जनताको पक्षमा काम गर्न सकेन– नेता भट्ट
धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
“अहिले देशभरी महंगी, भ्रष्टाचार, अपराध, बलात्कार लगायतका घटना बढिरहेका छन्” बिहीबार राष्ट्रिय जनमोर्चाले धनगढीमा आयोजना गरेको विरोध सभामा केन्द्रीय सदस्य भट्टले भने– “तर वर्तमान सरकारले कुनै पनि समस्या समाधान गर्न कुनै ध्यान दिएको देखिदैन ।”
उनले जनताबाट निर्वाचित जनप्रतिनिधिहरू विकास निर्माण तथा जनतालाई सेवासुविधा पुर्याउनमा भन्दा पनि आफ्नो सेवा सुविधा बढाउन मै मात्र केन्द्रीत भएको आरोप लगाए । उनले भने– “जनप्रतिनिधिहरूले आफ्नो सेवासुविधा बढाउन मात्रै ध्यान दिइरहेका छन् । उपभोक्ता समिति गठन लगायतबाट समेत कमिशन लिने गरेको पाइएको छ भने स्थानीय न्यायिक समितिको आडमा दोषिले उन्मुक्ति पाइरहेको अवस्था छ ।”
नेता भट्टले सरकारले अझैंसम्म कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न दोषि पत्ता लगाउन नसकेकोमा खेद व्यक्त गरे । “विगतमा ठूला घटनामा प्रहरीले अपराधी पत्ता लगाएर दोषिलाई कारवाहीको दायरामा ल्याएका छन्” उनले भने– “तर, बालिका निर्मलाको हत्यामा संलग्न दोषि पत्ता नलाग्नुका पछाडि सरकारकै संरक्षण रहेको देखिन्छ ।”
उनले निर्मला बलात्कार तथा हत्या घटनामा शुरुमा मानसिक अवस्था कमजोर भएको तथा लागूऔषध दुव्र्यशनी व्यक्तिलाई पक्राउ गरेर दोषिका रूपमा प्रस्तुत गरिएको र त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको बताए । उनले भने– “अहिले फेरि प्रहरीले एक जना कुखुरा चोरलाई बलात्कार र हत्यामा संलग्न रहेको भन्दै प्रमाणित गर्ने असफल प्रयास गरिरहेको छ ।”
उनले प्रहरी र सरकारको क्रियाकलाप हेर्दा निर्मलाले न्याय पाउने सम्भावना कम रहेको दावी गरे । भने– “प्रहरी उपरीक्षक (डिल्लीराज बिष्ट) एक जना कुखुरा चोरका आफ्नो जागिर नै किन दाउमा लगाए होलान् ।”
नेता भट्टले भरखरै भएको एसिया प्रशान्त युनिभर्सल पीस फेडरेशनको कार्यक्रममा नेपाल सरकारको क्रियाकलाप उचित नभएको बताए । यो संस्था विश्वका धेरै ठाउँमा विवादित छ । कतिपय देशमा यो संस्थालाई काम गर्न समेत बन्देज गरिएको छ, तर नेपाल सरकारले यस्तो संस्थाको कार्यक्रममा सहआयोजक बनेर ठूलो गल्ती गरेको छ ।
धनगढीको पार्क चौकमा भएको कोणसभामा राष्ट्रिय जनमोर्चाका प्रदेश संयोजक नन्दराज भट्ट, जनमोर्चा नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।