४ जेष्ठ २०८१, शुक्रबार

रुस्लान अत्तरिया कप महिला क्रिकेट : एपिएफ सेमिफाइनलमा, राइजिङ वुमनले कैलालीलाई हरायो



धनगढी । कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कप महिला क्रिकेटमा शुक्रबारको खेलमा एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार नै भएको अर्को खेलमा राइजिङ वुमन क्रिकेट काठमाडौंले कैलाली क्रिकेट एकेडेमीलाई पराजित गरेको छ ।
समूह चरणका दुवै खेल जितेपछि एपिएफ समूह विजेता बन्दै अन्तिम चारमा पुग्यो । अत्तरियास्थित एपिएफ क्रिकेट मैदानमा एपिएफले एकतर्फी खेलमा कञ्चनपुर–११ लाई आठ विकेटले हरायो । यसअघि बिहीबारको खेलमा एपिएफले मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले नै हराएको थियो ।
शुक्रबारको दोस्रो खेल पूर्ण रूपमा एपिएफको नाममा रह्यो । एपिएफका बलरले टस जितेर पहिले व्याटिङ गरेको कञ्चनपुर–११ लाई ३५ रनका लज्जास्पद स्कोरमा खुम्च्यायो ।
एपिएफका बलरहरूसामु निरिह देखिएका कञ्चनपुरका लागि अतिरिक्त रूपमा पाएको १४ रन नै उच्चस्कोर रह्यो । कञ्चनपुरका कप्तान रेखा रावलले बनाएको पाँच रन नै ब्याटबाट बनेको सर्वाधिक रनस्कोर थियो ।
कञ्चनपुरलाई अति झिनो रनस्कोरमा समेट्न एपिएफका विनु वुढामगर, करुणा भण्डारी, सीता रानामगर र सरिता मगरले दुई/दुई विकेट झारे । त्यस्तै, ईन्दु वर्मा र सोनु खड्काले एक/एक विकेट लिए ।
३६ रनको सजिलो विजय लक्ष्य एपिएफले पाँच ओभरमै दुई विकेट प्राप्त गर्‍यो । एपिएफका ज्योति पाण्डेयले १२ र सीता मगर र ममता चौधरीले छ/छ रन बनाए । खेलमा एपिएफकी सीता मगर म्याच अफ द म्याच भइन् ।
शुक्रबार भएको पहिलो खेलमा राईजिङ क्रिकेट वुमन काठमाडांैले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई १७ रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरुरेको राइजिङ क्रिकेट वुमनले २० ओभरमा छ विकेट क्षतिमा एक सय ३७ रन बनायो ।
राइजिङको ब्याटिङ बंगलादेशी खेलाडी शहनाज प्रविन र भारतीय खेलाडीद्वय पूजा निमा भाट र लक्ष्मी चौधरीको नाम रह्यो । शहनाज (२० रन) ले पूजा (१९) सँग पहिलो विकेटका लागि २४ रनको साझेदारी गरिन् । त्यस्तै, उनले दोस्रो विकेटका लागि लक्ष्मी चौधरीसंग ४५ रनको साझेदारी गरिन् । लक्ष्मीले २० रन बनाइन् ।
बलिङतर्फ कैलाली जिल्ला क्रिकेट एकेडेमीका चाँदनी शाहले दुई तथा सुमन बिष्ट, अञ्जली चन्द र लक्ष्मी साउँदले एक/एक विकेट लिए ।
जवाफमा कैलाली २० ओभरमा आठ विकेट क्षतिमा एक सय २० रनमा समेटियो । कैलालीको शुरुवात राम्रो भए पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसकेपछि १७ रनले पराजित हुनुपर्‍यो ।
कैलालीका नितु भण्डारीले ३५ रन बनाइन् । त्यस्तै, मञ्जु भण्डारीले २० र कविता कुँवरले १७ रन बनाए । नितु र मञ्जुबीच पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो । त्यस्तै, मञ्जुले कवितासंग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेकी थिइन् ।
राईजिङका अस्मिता कर्माचार्यले तीन विकेट लिइन् भने पुना निराभाटले दुई तथा आरती विडारी र कृति सेनले एक/एक विकेट लिईन् । सो खेलमा पूजा निभा भाट वुमन अफ द म्याच भइन् ।
प्रतियोगिता अन्तर्गत आज (शनिबार) राइजिङ क्रिकेट वुमन काठमाडौं र बारा क्रिकेट एकेडेमी तथा कञ्चनपुर–११ र मिलन क्रिकेट एकेडेमी झापाबीच खेल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार