१४ बैशाख २०८१, शुक्रबार

शिक्षक पदपुर्तीको लिखित परीक्षामा अनिमियतता भएको आशंका



अनुमोदन समाचार/धनगढी
साबिकको रामशिखरझाला १ फाराम हाल घोडाघोडी नगरपालिका १२ मा रहेको जनता आधारभूत विद्यालयका लागि भएको शिक्षक पदपुर्तीको लिखित परीक्षामा अनिमियतता भएको आशंका गरिएको छ ।
सो विद्यालयको प्राथमिक तह राहतका लागि आइतबार धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा भएको परीक्षामा राष्ट्रिय माध्यमिक विद्यालय मोतीपुर लम्कीको प्रश्नपत्र वितरण गरिएपछि शिक्षक पदपुर्तीको लिखित परीक्षामा अनिमियतता भएको आशंका गरिएको हो ।
उक्त विद्यालयमा रिक्त रहेको राहत शिक्षकका लागि लिइएको लिखित परीक्षाको प्रश्नपत्रमा राष्ट्रिय माध्यमिक विद्यालय मोतीपुर लेखिएको देखेपछि केही बेर परीक्षार्थीहरु अन्यौलमा परेका थिए ।
प्रश्नपत्रमा उक्त गल्ती रहेको छनौट समितिलाई परीक्षार्थीले गुनासो गरेपछि प्रिन्ट मिस्टेक भएको भनेर सच्याउन लगाएको सहभागी विर्ष बुढाले बताए । उनले भने प्रश्नपत्रमा राष्ट्रिय माध्यमिक विद्यालय मोतीपुर लेखिएको भएपछि परीक्षा स्थगित गर्नुपर्ने माग गरिएपनि शिक्षक छनौट समितिले आलटाल गरेर परीक्षमा सामेल गर्न लगाइयो ।
जनता विद्यालयका लागि बनाएको सो प्रश्नपत्र राष्ट्रिय माध्यमिक विद्यालय मोतीपुरमा केही दिनअघि भएको लिखित परीक्षामा सोधि सकिएकोले उक्त प्रश्नपत्र आउट भइसकेकोले पुनः परीक्षा लिनुपर्ने माग गर्दा पनि आफूले उठाएको माग सुनुवाइ नभएको बुढाले गुनासो गरे ।
सो विषयलाई लिएर विद्यालय निरिक्षक वीरबहादुर नेपालीसँग शिज्ञासा राख्दा प्रश्नपत्रमा भुलबस राष्ट्रिय माध्यमिक विद्यालय लेखिएको दाबी गरे ।
उनले प्रश्नपत्र वितरण गरिए लगत्तै आफूले सच्याउन लगाएर परीक्षा सञ्चालन भएको बताए । सो विद्यालयको राहत शिक्षकका लागि १० जनाको दरखास्त परेको थियो । आइतबार लिइएको लिखित परीक्षामा तीन जनालाई पास गरिएको छ ।
साबिक रामशिखरझाला १ का एक स्थानीयका अनुसार आफ्ना निकटका व्यक्तिलाई शिक्षक बनाउन विद्यालय निरीक्षक नेपाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मिलोमतो भएको छ ।
सो विषयलाई लिएर परीक्षा स्थगितको माग गर्दै सोमबार जिल्ला शिक्षा कार्यालय , जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी समेत दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार