११ श्रावण २०८१, शुक्रबार

प्रधानमन्त्रीले भने– खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रयास



धनगढी । सरकारले लागू गर्न लागेको कृषिको आधुनिकीकरण अन्तर्गत कैलालीबाट गहुँ सुपरजोन कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार एक कार्यक्रमबीच कैलालीको उदासीपुरमा गहुँ सुपरजोनको उद्घाटन गरे ।
सरकारले यसै वर्षबाट सञ्चालन गर्न लागेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत देशका सबै सात प्रदेशमा स्थापना गरिने सातवटा सुपरजोनमध्ये पहिलो सात नम्बर प्रदेशको कैलालीबाट उद्घाटन भएको छ ।
कैलालीमा उदासीपुर, बसौटी, पहलमानपुर र मसुरिया गाउँ विकास समितिका एक हजार हेक्टर क्षेत्रफलमा अत्याधुनिक प्रणालीबाट गहुँखेती गरिने परियोजना प्रमुख परियोजना प्रमुख रामनाथ यादवले बताए ।
सुपरजोन कार्यक्रमअन्तर्गत सरकारले चालू आर्थिक वर्षका लागि छ करोड ४७ लाख विनियोजन गरेको छ । कैलालीको उदासिपुरमा सुपरजोन कार्यक्रमको कार्यालय समेत स्थापना भएको छ ।
परिया्जना उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले किसानहरूलाई आधुनिक कृषि औजार पनि वितरण गरे ।
सो अवसरमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने प्रयासस्वरूप सरकारले कृषि आधुनिकीकरण परियोजना लागू गरेको बताए ।
‘अहिले पनि दुई तिहाई बढी जनसंख्या कृषि पेसामा नै निर्भर छन्, तर निर्वाहमुखी मात्रै छन्’ उनले भने– सरकारले यो परियोजनामार्फत मुलुकभित्रै रोजगारी सिर्जना गरेर विदेशिने युवाशक्ति स्वदेशमै रोकेर राष्ट्रिय समृद्धि हासिल गर्ने काममा लगाउने प्रयास गरेको छ ।
यसैबीच, प्रधानमन्त्री दाहालले मुलुकको वर्तमान राजनीतिक गतिरोधको निकासका लागि दलहरूबीच प्याकेजमै सहमती गरिने बताएका छन् ।
सुपरजोन कार्यक्रम उद्घाटनपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै  प्रधानमन्त्री दाहालले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नहुने तर, राजनीतिक दलहरूबीचको आपसी वार्ता र छलफलबाट परिमार्जन गर्न सकिने बताए ।
उनले स्थानीय निर्वाचन, संविधान संशोधन लगायतका विषयमा दलहरूबीच प्याकेजमा नै सहमती हुने बताए ।
संविधान संशोधन विधेयकबारे अदालतमा परेको उजुरीका सम्बन्धमा सोधिएको एक प्रश्नमा उनले अदालती प्रक्रिया र संसदीय दुवै प्रक्रिया जारी रहने बताए ।
कार्यक्रममा कृषि मन्त्री गौरीशंकर चौधरी, मन्त्रालयका सचिव डाक्टर सुरोज पोख्रेल र परियोजना प्रमुख यादवले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार