७ जेष्ठ २०८१, सोमबार

सुदूरपश्चिम महोत्सव–२०७३ समापन



धनगढी । mahotsab
कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव–२०७३ शनिबार समापन भएको छ ।
एघार दिनदेखि सञ्चालित महोत्सवको शनिबार एक कार्यक्रमबिच सांसद पुस्करनाथ ओझाले समापन गरे । समापन कार्यक्रम संघका अध्यक्ष शंकर बोगटीको अध्यक्षतमा भएको थियो ।
‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत २२ गतेदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन भएको थियो ।
यस वर्षको महोत्सवमा दश करोड रुपैयाँ बढीको कारोबार भएको संघले जनाएको छ । त्यस्तै महोत्सवमा टिकट बिक्रीबाट ७० लाख रुपैयाँ बढी सङ्कलन भएको छ ।
संघका अध्यक्ष बोगटीका अनुसार महोत्सवको अन्तिम दिन शनिबार नौ लाख ९७ हजार रुपैयाको टिकट बिक्री भएको थियो । महोत्सवको अन्तिम दिन ३० हजार बढी दर्शक ओइरिएका थिए ।
समापन कार्यक्रममा सांसद ओझाले कैलाली उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको चचा गरे ।
सांसद ओझाले गेटा विमानस्थलको स्तरोन्नती, धनगढी स्मार्ट सिटी, सेती अञ्चल अस्पतालमा आईसियु सेवा सञ्चालन, गौरिफन्टा नाकाको स्तरोन्नति लगायतका कार्यमा संघको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रमेश धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजेश भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समापन कार्यक्रममा महोत्सव सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थालाई कदरपत्र प्रदान गर्नुका साथै महोत्सवमा उत्कृष्ट स्टल र नृत्यमा उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार