६ कार्तिक २०८१, मंगलवार

स्मार्टसिटीको सम्झौता नक्कली हो : राना



धनगढी । कैलाली प्रतिनिधिसभा क्षेत्र नं. ५ का बाम उम्मेदवार नारदमुनी रानाले आफूले सजिलै चुनाव जित्ने अवस्था सृजना भएको दावी गरेका छन।
आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरेर नेता रानाले विगतको निर्वाचनको मत परिणाम, स्थानीय उम्मेदवार र आफू गरेको कामका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा बाम उम्मेदवारहरु जित्ने निश्चित भएको बताए । उनले बामगठबन्धनका विरुद्ध नेपाली कांग्रेसका पार्टी सभापति नै अनर्गल प्रचार गर्नुले पनि बामगठनबन्धनको जीत निश्चित भएको बताए ।
आफ्ना प्रतिस्पर्धी डा.आरजु देउवाले आचारसंहिता उलंघन गरिरहेकोले जनताले उनलाई नपत्याएको उनको दावी छ । देउवा सरकारले चुनावको मुखमा कर्मचारीको खटनपटन गरेर निर्वाचन आचारसंहिता उलंघन गरेको आरोप लगाउँदै नेता रानाले यस्तो प्रवृत्तिले निर्वाचन जित्न कांग्रेसले नसक्ने बताए ।
बामगठनबन्धनले जिते कृषि मैत्री नीति, मुक्तकमैया, सुकुम्बासीको व्यवस्थित बस्ती निर्माण, धनगढीलाई प्रदेश नं. ७ को राजधानी बनाउने, धनगढीलाई व्यवस्थित महानगरपालिका बनाउने, राना समुदायलाई आदिवासी जनजातिमा सूचिकरण गर्ने, धनगढीका सबै वडा जोड्ने गरी प्रस्ताव गरिएको चक्रपथ निर्माण गर्ने, डुवानको समस्या समाधान गर्ने, धनगढीलाई स्मार्ट सिटी बनाउने प्रक्रिया शुरु गर्ने लगायतको काम सफलतापूर्वक सम्पन्न गरिने नेता रानाले बताए ।
उनले चुनावका वेला स्थानीय हुन घर किन्नु, स्मार्ट सिटी बनाउन नक्कली सम्झौता गर्नुले आफूलाई झन सहज बनेको बताए । चिकित्सकले वकिलको काम गर्छु भने जस्तै गरेर धनगढी उपमहानगरसंग स्मार्ट सिटीको सम्झौता गरिएको छ उनले भने भवन भट्टको कम्पनी आइटीसम्वन्धीको हो त्यसले कसरी स्मार्ट सिटीको काम गर्छ ।
सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महेश्वर पाठक, पूर्वममन्त्री भानुभक्त जोशी, जिल्ला सचिव रणवहादुर चन्द, सचिवालय सदस्य यज्ञराज वास्तोला, स्थानीय चुनावमा मेयरका उम्मेदवार दुर्गा जोशी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार