६ कार्तिक २०८१, मंगलवार

समाजवादी फोरमका नेता भगतराम भन्छन– ‘फिल्मी शैलीमा राजनीति चल्दैन’



१५ वर्ष शिक्षण पेशामा बिताएका टीकापुरका भगतराम चौधरी संघीय समाजवादी फोरमका कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार बन्नुभएको छ । यस अघिका निर्वाचनमा लोकतान्त्रिक फोरमलाई सघाएका चौधरी अहिले संघीय समाजवादी फोरमबाट आफै उम्मेदवार बन्नुभएको छ । २०७२ भदौमा भएको टीकापुर घटनाका आगजनी पीडित चौधरी ठूला दलका झुटा आश्वासन, जनता झुक्याउने तत्कालीन लोकतान्त्रिक फोरमका नेताको चरित्र र राष्ट्रिय जनता पार्टीका उम्मेदवारको जनतालाई इमोष्नल बनाउने शैलीको कडा विरोध गर्नुहुन्छ ।

भगतराम चौधरी
उम्मेदवार, संघीय समाजवादी फोरम
क्षेत्र नम्बर १, कैलाली

उहाँ भन्नुहुन्छ– ‘मिडिया पत्रकार मेरो साथमा छन् भनेर राजपा उम्मेदवार रेशम चौधरी भनिराख्नु त भएको छ । गाउँमा भिडियो बनाएर आचारसंहिता बाहिरको कुरा देखाउने, अवास्तविक कुरा देखाउने, जनतालाई इमोस्नल बनाउनु भएको छ । फिल्ममा देखेका छौं आकाशबाट हाम फाल्ने हिरो वा जोकर केही होइन पर्दामा बनाइएको हिरोले एकैचोटी गाउँभरीका मानिसलाई हराएको दखाउन त सकिन्छ तर साँचो त हुँदैन नि ? यो त जनताले पनि बुझेका छन् । नाटक गर्ने कलाकार सफल नेतृत्व दिन सक्तैनन् । आन्दोलनका बेला नेता हुँ भन्ने अलिकति समस्या आएपछि जनता फसिसकेपछि म थिएन भनेर दुइजीव्रे कुरा गरेको सबैले सुनेका छन् ।’
२०६४ को चुनावमा स्वतन्त्र, २०७० मा सदभावनाबाट चुनाव लडेका र २०७४ को चुनाव अघि जनमुक्ति पार्टीको चुनाव चिन्ह घर लिएर चुनाव लडने बताउँदै आएका तर उम्मेदवारी राजपाबाट दिएका रेशम चौधरीप्रति लक्षित गर्दै भगतरामले भने, ‘मेला महोत्सव लगाउने सबै (थारु, पहाडी)को सहयोग लिने तर त्यसबाट उठेको रकम सामुदायिक काममा कहा लाग्यो ? कमाइ आफ्नो मात्र बनाउने कुरा सबैले थाहा पाएका छन् । कमाइ जहाँ लगाएका छन् त्यो पनि देखेका छौं । जनताले यो कुरा सोध्नु पर्दछ ।’
तत्कालीन लोकतान्त्रिक फोरमप्रति पनि कडा देखिएका भगतरामले तत्कालिन लोकतान्त्रिक फोरम नेताहरू थारू मतदातालाई झुक्याएर पदमा गएको बताउनुभयो । ‘अहिले नेताहरू काँग्रेसमा मिलेका छन् । मतदातालाई अलपत्र पारेका छन् । प्रदेशमा आफूलाई मत मागिरहेका छन् प्रतिनिधि सभामा अरुलाई नै भोट मागिरहेका छन् यसो गर्न मिल्छ ?’
ठूला पार्टीको विरोध गर्दै चुनावका बेला मात्र जनता फकाउने गरेको पनि उहाले बताउनुभयो– ‘जो सधै शक्तिमा बसेका छन् तिनका नेताहरू चुनाव आएपछि मात्रै जनता भेट्छन् । अहिले पनि चुनावका मुखमा सुकुम्वासीको लालपूर्जाका लागि फोटो संकलन गर्दैछन् रे । यत्रा वर्ष कहाँ गए ? जनताले के त्यही पत्याउने ?’
टीकापुर घटनाका सम्बन्धमा बोल्दै राज्य पक्षले असावधानी भएको बताउनुभयो । ‘स्वायत्त थरुहट प्रदेश लेख्न जाँदा घटना भयो । आगजनी पीडित हुँ । मैले घरघरमा गएर लगत संकलन गरे । क्षतिपूर्तिका लागि डेलिगेशन लिएर गएको हो । जेलमा भएका मानिसहरूलाई राहात दिनु छ । हुन त विगतका फोरम नेताहरू थरुहट मुद्दा हामीसंगै अर्को पार्टीमा विलय भइसकेको बताउँछन्, त्यसो भए मुद्दाको जिम्मेवारी लिएको खै ? अहिले सत्तामा बसेका व्यक्ति ८ बुँदे, ३ बुँदे सहमति गरेर सरकारमा गएको हो । खै त गरेको ?’ संघीय समाजवादी फोरमको कैलाली क्षेत्र नम्बर १ (१) मा चन्द्रप्रकाश चौधरी र (२) मा अर्का शिक्षक दिनेश चौधरी उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार