६ कार्तिक २०८१, मंगलवार

३० औं विश्व एड्स दिवस मनाइयो



धनगढी । कैलाली सहित देशभरी शुक्रबार ३० औं विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ दिवसको अवसरमा कैलालीमा विभिन्न कार्यक्रम गरिएको जनाइएको छ ।
दिवसको अवसरमा कैलाली जिल्ला जनस्वास्थ्य कार्यालय, सेती अञ्चल अस्पताल, एड्स हेल्थ फाउण्डेसन लगायत विभिन्न संघ/संस्थाको संयुक्त आयोजनामा शुक्रबार धनगढीको ट्राफिक चौराहदेखि सेती अञ्चल अस्पतालसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रभातफेरीमा जिल्ला जनस्वास्थ्य कार्यालय, सेती अञ्चल अस्पताल, एआरटी सेवाको कर्मचारी, विद्यार्थी, एचआईभी क्षेत्रमा काम गर्ने संघ/संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रभातफेरी पश्चात सेती अञ्चल अस्पतालका एचआईभी संक्रमितहरूलाई फलफूल वितरण गरिएको थियो ।
यस्तै दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता पनि गरिएको थियो । सात वटा संस्थाको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम नवजिवन एकता समाज, दोस्रो शैलेश्वरी महिला समूह र तेस्रो एचआइभी महासंघ भएको थियो । विजेताहरूलाई सेती अञ्चल अस्पतालका फिजिसियन विशेषज्ञ डा. शेरबहादुर कमरले पुरस्कार वितरण गरेका थिए ।
उता, टीकापुरमा दिवसको अवसरमा टीकापुर अस्पतालका विरामीलाई फलफूल र सिमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिलाई नि:शुल्क कण्डम वितरण गरिएको थियो ।
सन् २००६ देखि चालू आर्थिक वर्षको कात्तिक महिनासम्म कैलालीमा एक हजार पाँच सय ३४ महिला, एक हजार चार सय ८५ पुरुष, तीन सय ७४ बालबालिका र १० जना तेस्रो लिंगी सहित तीन हजार चार सय तीन जना संक्रमित रहेका छन् ।
सो अवधिमा एक हजार एक सय दुई पुरुष, एक हजार ४९ महिला, दुई सय १४ बालबालिका र छ जना तेस्रोलिंगी गरी दुई हजार तीन सय ७१ जनाले एआरटी उपचार सेवाका लागि दर्ता गरेकोमा चार सय २९ पुरुष, छ सय नौ महिला, एक सय २० बालबालिका र छ जना तेस्रो लिंगी गरी एक हजार एक सय ६६ जनाले एआरटी सेवा लिइरहेका थिए ।
तर हाल कैलालीमा हाल चार सय ५१ पुरुष, छ सय २६ महिला, एक सय आठ बालबालिका र चार तेस्रोलिंगी गरी एक हजार एक सय ८९ जनाले एआरटी सेवा लिइरहेको जनाइएको छ ।
अन्यले विभिन्न ठाउँबाट औषधि लिइरहेको फाउन्डेसनमा तथ्यांक छ । जिल्लामा सञ्चालित एआरटी सेन्टरमा कैलालीसहित कञ्चनपुर, डोटी, बर्दिया, डडेलधुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायतका जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितलेसमेत एआरटी औषधि सेवन गरिरहेका छन् ।

मंसिर १६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार