२७ पुष २०८१, शनिबार

रानाथारूको मुख्य मुद्दा सूचीकरण



धनगढी । रानाथारू समुदायका लागि यस पटक पनि आफ्नो समुदायको छुट्टै सूचीकरण नै मुख्य मुद्दा भएको छ ।
विगतका निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले रानाथारूलाई आदिवासी जनतातिको सूचीमा छुट्टै पहिचानसहित सुचीकृत गर्ने आश्वासन दिए पनि अहिलेसम्म हुन नसकेकोमा उनीहरू खिन्न छन् ।
उनीहरूको गुनासो छ– विगतका चुनावमा रानाथारू समुदायलाई छुट्टै सूचीकृत गर्ने भनेर मत मागे र चुनाव जिते, तर जितेर गइसकेपछि यो मुद्दालाई बिर्सिए ।
कैलालीको क्षेत्र नम्बर ५ मा रानाथारू मत निर्णायक मानिन्छ । २०७० सालको निर्वाचनमा यस क्षेत्रबाट काँग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए । त्यसपछि भएको उपनिर्वाचनमा पनि नेपाली काँग्रेसकै पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।
धनगढी–८, धनगढी गाउँका शिवराज रानाको गुनासो छ– २०७० सालको चुनावमा डडेल्धुरा र कैलालीबाट चुनाव लडेका देउवाले कैलालीलाई मात्रै छोडेनन्, रानाथारुको मुद्दालाई पनि छोडे ।
शिवराजले काँग्रेस सभापति देउवा चौथो पटक प्रधानमन्त्री बने पनि उनले चुनावताका दिएको आश्वासन पुरा नभएको गुनासो गरे ।
आदिवासी जनजातीको सूचीमा रानाथारूलाई थारू समुदायमा राखिएको छ । राना थारु समुदायले आफूहरूलाई अलग्गै पहिचानसहित सूचीकृत गर्नुपर्ने माग राख्दै आएका छन् । राजनीतिक दल तथा नेताहरूले चुनावताका बारम्बार सूचीकरणको नारा दिने तर, चुनाव जितेपछि बिर्सिने गरेका कारण रानाथारूहरू आफूहरू हेपिएको ठान्छन् ।
रानाथारू अलग्गै सूचीमा सूचीकरण नभएका कारण प्रहरी, लोक सेवा आयोग, लगायत सरकारी जागिरमा जान आरक्षण सुविधा पाउन नसकेको क्याम्पस रोडका नरेन्द्र रानाले बताए ।
कैलाली र कञ्चनपुरमा साढे तीन लाख भन्दा बढी रानाथारूको जनसख्या रहेकोमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा मात्रै ३० हजार भन्दा बढी मतदाता रहेका छन् ।
यसअघिका निर्वाचनमा पटकपटक काँग्रेसलाई जिताएर पठाए पनि रानाथारू समुदाय सुचीकृत हुन नसकेकोमा उनीहरू असन्तुष्टी पोख्छन् ।
बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले आफू रानाथारू समुदायको नै भएकोले जितेमा सूचीकृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछन् ।
काँग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार जीवन राना पनि सूचीकरणको सवालमा आफू गम्भीर रहेको बताउँछिन् ।
क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट प्रधानमन्त्री देउवा पत्नी आरजु राणा उम्मेदवार रहेकी छन् । रानाथारूले उनले पनि सूचीकरणको प्रतिवद्धता व्यक्त गरिरहेको बताए । ‘तर विगतका चुनावपछि सूचीकरणको मुद्दा ओझेलमा पारिएकोले अहिले हत्तपत्त विश्वास गर्न सक्दैनौ’ मतदाताहरू भन्छन् ।
यसैबीच, बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा बाम गठबन्धनले घरदैलो तथा चुनावी सभाको आयोजना गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा सदस्य उम्मेदवार नेपालु चौधरी लगायत एमाले नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एक सय ५० जना एमालेमा प्रवेश गरेको जनाइएको छ ।

मंसिर १४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार