६ कार्तिक २०८१, मंगलवार

तेक्वान्दो विकासका लागि कार्यनीति आवश्यक



धनगढी । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसमशेर राणाले तेक्वान्दोको विकासका लागि कार्यनीति आवश्यक रहेको बताएका छन् ।
तेक्वान्दो खेलले नेपाललाई अन्तर्राष्ट्रिय जगतमै परिचित गरेपनि अझै दक्ष खेलाडीको उत्पादन हुन नसकेको बताउँदै विशेष कार्यनीति बनाएर अघि बढ्नुपर्ने बताए ।
बुधबार धनगढीमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति कैलालीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष राणाले खेलाडीहरूले दक्ष प्रशिक्षक प्राप्त गर्न नसक्नु, खेल सामग्रीहरूको व्यवस्था नहुनु लगायतका समस्याले तेक्वान्दोमा दक्ष खेलाडीको उत्पादन हुन नसकिरहेको उनले बताए ।
उनले राजनीतिक अस्थिरताका कारण संघले धेरै काम गर्न नसकिरहेको बताउँदै प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन सकिएपछि तेक्वान्दो मात्र नभई समग्र खेल क्षेत्रको विकासका लागि कामहरू अघि बढ्ने बताए । वर्तमान अवस्थामा खेलाडीहरूले भोग्नु परेको समस्याहरू हल भएर राष्ट्रलाईनै विश्वसामु पहिचान गराउने काम खेलकुदले गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा तेक्वान्दोका वरिष्ठ उपाध्यक्ष नन्दकुमार राईले प्रशिक्षकहरूको क्षमता अभिवृद्धि प्रत्येक वर्षको छ/छ महिनामा हुनुपर्ने भए पनि अझै हुन नभएको बताउँदै अव छिट्टै प्रशिक्षकको क्षमता अभिवृद्धि गर्ने काम अघि बढ्छ र दक्ष खेलाडीको उत्पादन गर्न पनि सकिन्छ ।
‘खेलाडी भाइहरू तपाई अब नेपाललाई खेल क्षेत्रमा चिनाउने प्रयास गर्नुहोस्’ उनले भने, ‘वरिष्ठ खेलाडी दीपक विष्टलाई उदाहरण नबनाउनुहोस् ।’
कैलाली तेक्वान्दो संघ जिल्ला कार्य समिति कैलालीका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव दीपराज गुरुङ लगायत केन्द्रीय कार्य समितिको सहभागिता रहेको थियो । जिल्ला सचिव आशिष चन्दले तेक्वान्दो खेलको वर्तमान समस्या र समाधान सहितको चार बुँदे घोषणापत्र अध्यक्ष राणालाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार