६ कार्तिक २०८१, मंगलवार

मतदानका लागि प्रेरित गर्दै



धनगढी । आम मतदातालाई मतदानका लागि अभिप्रेरित गर्न केही युवाहरू सक्रिय भएका छन् । ‘मतदान गर्न आफू पनि जाऔं, अरूलाई पनि अभिप्रेरित गरौं’ भन्ने नाराका साथ धनगढीका केही युवाले मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर १९, पुरानो फूलवारीमा मतदाता अभिमुखिकरण कार्यक्रम गरे ।
कैलालीमा मतदान प्रतिशत बृद्धि गर्न र बदर मतको संख्या घटाउन युवा स्वयंसेवीहरूले मतदातालाई मतदानको महत्त्वबारे जानकारी गराएका थिए ।
पुरानो फूलवारीका एक सय १० परिवारलाई घरमै पुगेर मतदानको महत्त्वबारे जानकारी गराइएको युवा शान्ति परिषदका अध्यक्ष प्रेम ढुंगानाले बताए ।
स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा कुल मतदाताको संख्यामा ७३ प्रतिशत मत खसेको र कुल खसेको मतमा पाँच देखि आठ प्रतिशतसम्म बदर भएको थियो ।
मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मात्र मत खसेको थियो ।
युवा शान्ति परिषदका अध्यक्ष ढुंगानाले जिल्लामा मतदान प्रतिशत बृद्धि गर्न र बदर मत संख्या घटाउन युवाहरूलाई धनगढीका दुर्गम क्षेत्रमा मतदातालाई अभिप्रेरित गर्न युवा परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार