६ कार्तिक २०८१, मंगलवार

नेपाली जनता कहिल्यै पनि तानाशाही स्वीकार्दैनन्– खाँड



धनगढी । नेपाली काँग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले नेपाली जनताले निर्णायक घडीमा लोकतन्त्रवादीलाई नै समर्थन र विश्वास गरेको बताएका छन् । नेता खाँडले नेपाली जनताले कहिल्यै पनि तानाशाही, निरंकुशता र अधिनायकवादलाई स्वीकार नगरेको चर्चा गरे ।
मिडिया सेन्टर प्रदेश नम्बर ७ ले आइतबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेता खाँडले अहिलेको निर्वाचन लोकतन्त्र पक्षधर र विरोधीबीचको संघर्ष भएको बताए । ‘वास्तवमा यो निर्वाचन मात्रै होइन, जनमत संग्रह नै हो’ उनले भने ।
उनले नेपाली काँग्रेसले हिमाल, पहाड, मधेस सबैलाई जोडेर अखण्ड र अविभाजित नेपाल बनाउन खोजेको बताए । ‘दुर्भाग्यले केपी ओलीहरूको अहंकारले राष्ट्रमाथि विभाजनको खतरा बढेको छ’ उनले भने– राजधानीको टुँडिखेलबाट अथवा पहाडका अग्ला टाकुराबाट ओलीहरूले निरन्तर मधेस र मधेसी जनतालाई होच्याउने, तिरस्कार गर्ने काम मात्रै गर्दै आएका छन् ।
उनले विभिन्न जातजाती, धर्मसंस्कृति, भूगोल भएको नेपालमा सबैलाई एकवद्ध बनाइराख्न लोकतान्त्रिक शासन अनिवार्य भएको चर्चा गरे । ‘राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शासनको विकल्प हुँदैन’ उनले नेपाललाई सधैंभरी राजनीतिक प्रयोगशाला बनाउने तत्वहरूलाई परास्त गर्न आह्वान गरे ।
उनले सुदूरपश्चिमको आर्थिक विकासको गति तीब्र बनाउदै केही वर्षभित्रै विकशित प्रदेशका रूपमा स्थापित गरिने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका कैलाली सभापति नरनारायण शाह, केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य क्षितिज भण्डारी, नेता होमनाथ कोइराला लगायतको उपस्थिति रहेको थियो ।
मिडिया सेन्टर प्रदेश नम्बर ७ का संयोजक मनमोहन स्वारको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष टेकराज जोशीले सञ्चालन गरेका थिए ।

मंसिर ११ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार