६ कार्तिक २०८१, मंगलवार

धनगढीमा आधुनिक सडकहरू निर्माण हुँदै



धनगढी । धनगढी उपमहानगरपालिकामा आधुनिक सडकहरू निर्माण हुने क्रम शुरु भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयबाट सञ्चालन भएको सघन शहरी विकास कार्यक्रम र क्षेत्रीय शहरी विकास कार्यक्रमअन्तर्गत डेढ दर्जन बढी आधुनिक सडक निर्माण कार्य तीब्र बनेका छन् ।
कार्यालयका डिभिजन प्रमुख रवीन्द्र बोहराले गत आर्थिक वर्ष २०७३/७४ मा स्वीकृत भएको शघन शहरी विकास कार्यक्रम अन्तर्गत २० वटा सडकमध्ये १९ वटा सडकको निर्माण कार्य शुरु भइसकेको बताए ।
एक अर्ब ३२ करोड ११ हजार लाख ८२ हजार पाँच सय रुपैयाँ बजेटमध्ये हालसम्म ९३ करोड ६५ लाख ९१ हजार पाँच सय ५५ रुपैयाँ लागतको ठेक्कासम्झौता भइसकेको उनले बताए ।
सो कार्यालयले पहिलो कार्यक्रमको छनौट र अन्य काम समयमै गरेपछि सडक विभागले थप एक अर्ब रुपैयाँ दोस्रो चरणका लागि सिफारिस गरेको पनि उनले जानकारी दिए । डिभिजन प्रमुख बोहराले दोस्रो चरणको सघन शहरी विकास कार्यक्रमको टेण्डर आह्वान भइसकेको बताए ।
पहिलो चरण अन्तर्गत २० वटा सडक र दोस्रो चरणमा १९ सडक गरी धनगढीमा एक सय किलोमिटर आधुनिक र स्तरीय सडक निर्माण हुनेछन् ।
त्यस्तै, सो कार्यक्रम अन्तर्गत धनगढीको कनरीमा पार्क, पटेलामा थारू संग्रहालय, धनगढी र फूलवारी बसपार्कको स्तरोन्नती र एक शहर एक पहिचान अन्तर्गत आर्युर्वेदिक केन्द्र निर्माण हुने छन् । डिभिजन प्रमुख बोहराले बहुवर्षीय आयोजना पुरा भएपछि दुई वर्षभित्रै धनगढीको मुहार फेरिने बताए ।
त्यस्तै, धनगढी र अत्तरियामा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाको काम पनि तीब्र गतिमा अघि बढेको छ । सो आयोजना अन्तर्गत धनगढीका लागि तीन अर्ब १९ करोड र अत्तरियाका लागि एक अर्ब ८९ करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ ।
आयोजना अन्तर्गत धनगढीमा १८ किलोमिटर सडकको सर्भे भइसकेको र ल्याण्डफिल साइटको पनि पहिचान भइसकेको छ भने अत्तरिया नगरपालिकाले ल्याण्डफिल साइटका लागि जग्गाको टुंगो लाग्न बाँकी रहेको उनले बताए ।
क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा आधुनिकस्तरका १५ वटा सडक गरि ४२ दशमलव दुई किलोमिटर सडक निर्माण हुनेछन् भने अत्तरियामा ६ वटा सडक गरी २१ किलोमिटरको सडक निर्माण हुने जनाइएको छ ।

मंसिर १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार