६ कार्तिक २०८१, मंगलवार

क्षेत्रीय उसु प्रतियोगिता शुरु



धनगढी । कैलालीको धनगढीमा दोस्रो सुदूर तथा मध्यपश्चिम विकास क्षेत्रस्तरीय उसु प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।
शिअ उसु क्वान मनेहराका आयोजनामा भएको उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ । प्रतियोगिताको एक समारोहबीच कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले उद्घाटन गरे ।
सो अवसरमा उनले खेलाडी र खेल क्षेत्रको विकासका लागि आफूले सधै काम गरेको बताए । ‘खेल क्षेत्र सधै मेरो प्राथमिकतामा पर्छ’ उनले अहिले सबै क्षेत्रमा ठूलो सुधार हुँदै गएको भए पनि खेल क्षेत्रमा सोचेजति सुधार हुन नसकेको बताए ।
उनले खेलाडीहरूलाई नि:शुल्क तालिम, नि:शुल्क शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था गर्न नसकिएको बताए ।
क्वानका अध्यक्ष नारायण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक अम्मरकुमार थिंग, प्रकाशबहादुर लामा, एशिया खेलाडी श्याम विष्ट, प्रशिक्षक राजीव गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
क्वान सदस्य मोतिराम थारूले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रतन खातीले गरेका थिए ।
शनिबारदेखि शुरु भएको प्रतियोगितामा कैलाली, सुर्खेत, बांके, रुकुम, डोल्पा, जुम्ला लगायतका मध्य र सुदूरपश्चिमका गरी १० टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार