६ कार्तिक २०८१, मंगलवार

विविध कार्यक्रमहित दृष्टि दिवस मनाइयो



धनगढी । विश्व दृष्टि दिवसका अवसरमा कैलालीमा बिहीबार विभिन्न कार्यक्रम आयोजना भएका छन् ।
विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ, कैलाली, गेटा आँखा अस्पताल र लायन्स क्लव अफ अत्तरिया सिटीको आयोजनामा बिहीबार गोदावरी नगरपालिकाको अत्तरियामा प्रभातफेरी र नि:शुल्क आँखा शिविर सञ्चालन गरियो ।
‘दृष्टिको महत्त्व बुझौं’ भन्ने नाराका साथ मनाइएको दिवसको उद्देश्य भनेको अन्धोपन तथा न्यून दृष्टिको विषयमा जनचेतना जगाउन संसारको ध्यानकेन्द्रीत गर्नु हो । दिवस प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो बिहीबार मनाइने गरेको छ ।
कार्यक्रमको नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष चक्रबहादुर सिंहले एक समारोहबीच उद्घाटन गरे । कार्यक्रम नेपाल नेत्रज्योति संघ, कैलालीका अध्यक्ष जीवनाथ जैशीको अध्यक्षतामा भएको थियो ।
गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए ।
नेपाल नेत्रज्योति संघका जिल्ला सचिव भूपेन्द्र थापाले सञ्चालन गरेको सो कार्यक्रममा लायन्स क्लव अफ अत्तरिया सिटीका अध्यक्ष वीरबहादुर खत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बिहीबार नै अत्तरियास्थित दुर्गालक्ष्मी माध्यामिक विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।
आँखा शिविरमा दुई सय ९५ जना आँखाका रोगीको आँखा परीक्षण गरिएको सचिव थापाले जानकारी दिए । शिविरमा ८२ जनाको अप्रेशन गर्नुपर्ने र दुई सय १३ जनाको औषधि उपचार गरिएको जनाईएको छ ।
नेपाल नेत्रज्योति संघका अनुसार सुदूरपश्चिममा सन् २००८ मा गरिएको सर्वेक्षण अनुसार आँखाका विभिन्न रोगका कारणले सून्य दशमलव ४१ प्रतिशत दृष्टिविहीन छन् । सम्पूर्ण अन्धोपनमध्ये सबैभन्दा बढी मोतिविन्दुका कारणले ६२ प्रतिशत दृष्टिविहीन रहेका छन् ।
गेटा आँखा अस्पताल र अन्तर्गत सञ्चालित कार्यक्रमहरूबाट स्थापना कालदेखि सन् २०१६ सम्म २९ लाख ५७ हजार एक सय ६० जना आँखाका रोगीलाई सेवा प्रदान गरेको छ । तीमध्ये चार लाख ७५ हजार आठ सय २७ जनाको विभिन्न आँखाका रोगको लागि शल्यक्रिया गरिएको आखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए ।
गेटा आँखा अस्पतालले सुदूरपश्चिमका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवामा पहुँच बढाउन महिला स्वास्थ्य स्वयंसेविका तालिम, शिक्षकहरूका लागि दृष्टि परीक्षण तालिम, स्वास्थ्य कार्यकर्ता तथा औषधि व्यवसायीहरूका लागि तालिम सञ्चालन गर्दै आएको छ ।
नेपालमा सन् २०११ सम्ममा गरिएको सर्वेक्षणमा सम्पूर्ण जनसंख्याको सून्य दशमलव ३५ प्रतिशतमा अन्धोपन भेटिएको थियो । हाल नेपालमा एक लाख बढी मानिस दृष्टिविहिन छन् । छ लाख मानिसमा दृष्टि क्षमता कमजोर छ । दृष्टिविहिन बच्चाहरू १३ हजार दुई सय रहेको र तीन लाख ३० हजार बालबालिकाको दृष्टि क्षमता कमजोर रहेको एक अध्ययनले देखाएको छ ।

असाेज २७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार