१७ पुष २०८१, बुधबार

चिकित्सकहरूको आन्दोलन जारी, उपचार सेवा प्रभावित



धनगढी । चिकित्सकहरूको निरन्तर आन्दोलनका कारण सरकारी तथा निजी स्वास्थ्यमा उपचार सेवा प्रभावित भइरहेको छ ।
सरकारले ल्याउन खोजेको विधयेकको विरोधमा नेपाल चिकित्सकको आह्वानमा देशभरी नै आन्दोलन भइरहेको छ । सोमबार सुदूरपश्चिम चिकित्सक संघद्वारा कैलालीको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको डाक्टर प्रदीप मिश्रले बताए ।
गत २ गतेको मन्त्री परिषद् बैठकले ‘डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा त्यसको जिम्मेवारी लिएर डाक्टरले नै क्षतिपूर्ति दिनुपर्ने’ व्यवस्थासहितको विधयेक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा शुक्रबारदेखि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेका छन् ।
चिकित्सकहरूको आन्दोलन कारण कैलालीका सेती अञ्चल अस्पताल, टीकापुर अस्पताल, मालाखेती अस्पताल लगायत सबै सरकारी तथा निजी स्वास्थ्य संस्थामा चार दिनदेखि उपचार सेवा प्रभावित भइरहेको छ ।
यसैबीच, सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ ।
सोमबार मन्त्रिपरिषदको आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषदको बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा मन्त्री परिषदमा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि बस्ने मन्त्री परिषद्बाट मागबारे निर्णय गरिने बताए ।
सरकारले असोज २ गते ‘चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको ज्यान गएमा वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । यो निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो ।

असाेज १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार