१४ कार्तिक २०८१, बुधबार

राज्य र उपभोक्ता ठग्नेलाई छोडिन्न– राज्यमन्त्री विक



टीकापुर । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले राज्यलाई कर छल्ने तथा उपभोक्तालाई ठग्ने व्यावसायीलाई कुनै हालतमा पनि नछोड्ने दोहोर्‍याएका छन् ।
प्रेस सेन्टर नेपालले आइतबार टीकापुरमा आयोजना गरेको पत्रकार भेटघाटमा राज्यमन्त्री विकले व्यावसायको नाममा राज्य र उपभोक्तालाई ठग्नेलाई कानुनी दायरामा ल्याउने दृढता व्यक्त गरे ।
उनले दशैंतिहार जस्ता ठूला चाडपर्वको समयमा बढी किनमेल हुने भएकाले बजार अनुगमन तीब्र बनाइरहेको बताए । उनले उपभोक्ता सचेत नभएकाले पनि व्यावसायका नाममा कर छल्ने तथा ठग्ने प्रवृत्ति मौलाएको चर्चा गरे ।
राज्यमन्त्री विकले शनिबार टीकापुरमा बजार अनुगमनमा अवरोध गरेर टीकापुर उद्योग वाणिज्य संघले अपरिपक्वता प्रदर्शन गरेको बताए । उनले आफू अझैं जिम्मेवारीका साथ बजार अनुगमनमा सक्रिय हुने बताए ।
सो अवसरमा आपूर्ति मन्त्रालयका अनुगमन महाशाखाका प्रमुख गोविन्द लुइँटेलले मन्त्रालयको वार्षिक कार्ययोजना अनुसार सबै क्षेत्रमा जिल्लाको संयन्त्रमार्फत अनुगमन भइरहेको बताए ।
कार्यक्रम प्रेस सेन्टर नेपालका जिल्ला उपाध्यक्ष छविलाल जैशीको अध्यक्षतामा भएको थियो ।
यसैबीच राज्यमन्त्री विकले आइतबार पनि टीकापुरमा बजार अनुगमन गरेका छन् । राज्यमन्त्री सहितको टोलीले चन्दर मिष्ठान भण्डार, बम ब्रदर्स, धिरेन्द्र ट्रेडर्स, मायासिद्धि इम्पेक्स, पाण्डे सपिङ सेन्टर, छविलाल सुनचाँदी पसल लगायतका पसलमा अनुगमन गरेका थिए ।
त्यस्तै, सहरी विकास राज्यमन्त्री छमबहादुर गुरुङले पनि आइतबार नै टीकापुरको विभिन्न स्थानमा अनुगमन गरेका छन् ।
व्यावसायीद्वारा बजार बन्द
कैलालीको टीकापुरका व्यावसायीले बजार अनुगमनको विरोधमा आइतबार बजार बन्द गराएका छन् ।
आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक नेतृत्वको टोलीले शनिबार टीकापुरको बजार अनुगमन गरेको विरोधमा व्यावसायीले बजार बन्द गराएका थिए ।
आइतबार बिहान केही समयका लागि बजार खुले पनि अनुगमन टोलीले पुन: अनुगमन गर्न थालेपछि बजार बन्द आह्वान गरेका थिए । व्यावसायीहरूले दशैंतिहारका बेलामात्रै बजार अनुगमनका नाममा व्यावसायीलाई दु:ख दिने गरेकोले विरोध गर्नुपरेको बताए ।

असाेज ०९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार