६ कार्तिक २०८१, मंगलवार

निजामती सेवा दिवस मनाइयो : जनताको मन जित्ने गरी काम गर्नुहोस्– प्रजिअ रिजाल



धनगढी । विभिन्न कार्यक्रम सहित बिहीबार धनगढीमा १४ औं निजामती सेवा दिवस मनाइएको छ । निजामती सेवा दिवस मूल आयोजक समिति कैलाली र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनद्वारा आयोजित कार्यक्रमको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरे ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रिजालले जनताको मन जित्नेगरी काम गर्न कर्मचारीहरूलाई आग्रह गरे । उनले भने– ‘केही कर्मचारीको गलत व्यवहारका कारण सिंगो निजामती कर्मचारी संगठन नै बदनाम हुने भएकाले इमान्दारीपूर्वक काम गर्नुहोस् ।’
प्रजिअ रिजालले निजामती कर्मचारीमाथि जनताको आशा र भरोशालाई टिकाई राख्न आग्ह गरे ।
उनले संघीय संरचनापछि निजामती कर्मचारीहरूलाई स्थानीय तहमा समायोजन गर्ने तयारी भइरहेकाले कर्मचारीका समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य छत्रबहादुर शाहले सरकारले हचुवाको भरमा निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने तयारी गरेको गुनासो गरे ।
उनले सरकाले निजामती कर्मचारीको उचित सम्मानका साथ समायोजन गरेमा आफ्नो जिम्मेवारी निर्वाह गर्न तत्पर रहेको बताए ।
त्यस्तै, नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष हेमराज जोशीले संघीयता कार्यान्वयन भएका विश्वका अरु मुलुकको अभ्यासलाई दृष्टिगत गरी कर्मचारी समायोजन गर्नुपर्न बताए ।
कार्यक्रममा कैलालीका बाढीपीडितहरूका लागि कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलित ३३ हजार ७१ रुपैयाँ जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी रिजाललाई हस्तानान्तरण गरियो ।
यसैगरी, निजामती सेवा दिवसको पूर्वसन्ध्यामा बुधबार आयोजित खुला निबन्ध लेखन प्रतियोगिताका विजेता जिल्ला वन कार्यालय कैलालीका नायबसुब्बा रामअवतार चौधरीले पुरस्कारवापत प्राप्त पाँच हजार रुपैयाँ पनि बाढीपीडितलाई प्रदान गरे ।
कार्यक्रम सञ्चालन आधिकारिक ट्रेड युनियन कैलालीका सचिव शिवराज ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार