६ कार्तिक २०८१, मंगलवार

गेटा मेडिकल कलेजको काम समयमै पुरा गराइने– दाहाल



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गेटा मेडिकल कलेजको निर्माण कार्य समयमै पुरा गराउन पहल गर्ने बताएका छन् ।
आइतबार कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेजको निरीक्षणका क्रममा अध्यक्ष दाहालले मेडिकल कलेज प्रदेश नम्बर ७ को विकासका लागि महत्त्वपूर्ण भएकोले बजेट तथा निर्माण सामग्री अभाव हुन नदिन तथा अन्य कुनै पनि प्रकारको अवरोध आउन नदिन आफू सजग रहेको बताए ।
पूर्व प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजको निर्माण कार्य समयमै पुरा हुने दोहोर्‍याए । उनलाई निरीक्षणका क्रममा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले निर्माण भइरहेका संरचना तथा भौतिक प्रगतिबारे जानकारी गराएका थिए ।
उनले गेटा मेडिकल कलेजको पहिलो चरण अन्तर्गत कलेज, अस्पताल र प्रशासनिक भवन निर्माण भइरहेको जानकारी दिए । आर्थिक वर्ष २०७३/०७४ मा ५० करोड विनियोजन भएकोमा यस आर्थिक वर्ष २०७४/७५ मा ९८ करोड रकम विनियोजन भएको जानकारी दिए ।
उनले प्रशानिक भवन निर्माण सम्झौता भएको चार वर्षसम्म अगाडि बढ्न नसकेको भन्दै पुजाराले काम शुरु नगरेपछि निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको र अहिले पुन: काम अगाडि बढाउने प्रतिवद्धता जनाएको बताए । पूर्वाधार निर्माणको पहिलो चरणको काम आर्थिक वर्ष २०७६/०७७ मा सक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
कार्यकारी निर्देशक पुजाराले साढे दुई वर्षभित्र ३ सय शैय्याको अस्पताल तथा एमबीबीएसको पठनपाठन शुरु गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको बताए । कार्यकारी निर्देशक हेमराज पुजाराले अहिले ढुङ्गा, गिट्टी, बालुवा उत्खन्नमा रोक लगाएकाले यी सामग्री अभाव भइरहेको बताए । यसले गर्दा निर्माण कार्यमा केही अवरोध पुग्न सक्ने पनि पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिए ।

भदाै १२ गते epaper

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार