६ कार्तिक २०८१, मंगलवार

अपाङ्ग महासंघद्वारा जनप्रतिनिधिहरूको स्वागत



धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ, सुदूरपश्चिम क्षेत्रीय कार्यालयले बिहीबार धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा स्वागत गरेको छ ।
कार्यक्रममा उपमहानगरपालिका प्रमसख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट तथा विभिन्न वडाका वडाध्यक्षहरूलाई स्वागत गरियो ।
सो अवसरमा अपाङ्गता भएका व्यक्तिका सवाल सम्बन्धी २१ बँुदे ध्यानाकर्षणपत्र पनि प्रस्तुत गरियो । महासंघका क्षेत्रीय अध्यक्ष भीमबहादुर शाहले नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूलाई सो ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका थिए ।
ध्यानाकर्षणपत्रमा स्थानीय निकायबाट अपांगता परिचयपत्र वितरणको व्यवस्था मिलाउनु पर्ने, शैक्षिक रोजगारी सिर्जना गर्नुपर्ने, अपांगता भएका व्यक्तिहरूको नि:शुल्क स्वास्थ्य उपचार र आरक्षित शैय्याको व्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ । यसैगरी, सवारी साधनमा आरक्षित सिट तथा ५० प्रतिसत छुटको व्यवस्था गरिनुपर्ने, अपांगमैत्री सरकारी भवन तथा नगरक्षेत्र भित्र सार्वजनिक अपांगता मैत्री शौचालय निर्माण गरिनुपर्ने, हरेक नगरपालिका र गाउँपालिका वडा कार्यालयमा अपांगता सूचना केन्द्र सहायता कक्षा स्थापना गरिनुपर्ने लगायत २१ बुँदा ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख वडले आफू सधै अपाङ्गता भएका व्यक्तिको हितका लागि प्रतिवद्ध रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका सबै माग एकैचोटी पुरा गर्न कठिनाई भए पनि आफ्नो पाँच वर्षे कार्यकालमा धनगढी नगरलाई अपांगमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने– ‘हामीलाई तपाईहरूले अभिभावकको जिम्मेवारी दिनु भएको छ, यो जिम्मेवारी हामी पूर्णरूपमा निर्वाह गर्ने छौं ।’
उपप्रमुख मिश्र भट्टले अबको नगरसभाबाट अपाङ्गता भएका व्यक्तिका समस्यालाई सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गरिने बताइन् ।
उनले अपांगता भएका व्यक्तिहरूको संरक्षणका लागि राज्य अभिभावक भएकाले त्यही अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन नन्दराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार