१ कार्तिक २०८१, बिहीबार

आर्थिक विकासका लागि नागरिक समाजको भूमिका आवश्यक– मेयर वड



धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले विकास निर्माणका ठूला योजनालाई सफल पार्न सरोकारवालाहरूको साथ र समन्वय आवश्यक रहेको बताएका छन् ।
‘कुनै पनि विकास निर्माणका कार्य अघि बढाउँदा समस्या पनि सिर्जना हुन्छन्’ बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा मेयर वडले भने– ‘विकास निर्माण कार्यमा सिर्जना हुने अवरोध कम गर्न नागरिक समाजको सकारात्मक भूमिका आवश्यक रहेको बताए ।
संवाद समूह, धनगढीले आयोजना गरेको ‘नवनिर्वाचित पदाधिकारीहरूमा स्वागत तथा बधाई र स्थानीय तहमा अवसर, चुनौति तथा सम्वाद समूहको भूमिका’ कार्यक्रममा उनले उपमहानगरपालिकामा निर्माणाधीन तथा आगामी दिनमा सञ्चालन हुने ठूला विकास निर्माण आयोजनाको चर्चा गरे ।
मेयर वडले अत्तरिया–मोहना छ लेन सडक निर्माणमा भइरहेको अवरोधको चर्चा गरे । उनले भोली सघन शहरी विकास कार्यक्रम र एडिविको कार्यक्रममा अवरोध हुन सक्छ भन्ने ध्यानमा राखेर नागरिक समाजको सकारात्मक भूमिका आवश्यक रहेको बताए ।
उनले छ लेन सडक निर्माण गर्दा सडक किनारामा रहेका केही घर नै भत्काउनु पर्ने देखिएकोले घरजग्गाधनीले मआब्जा माग गरिरहेको स्मरण गरे । ‘तर, सो सडक आयोजनामा मुआब्जाको व्यवस्था नभएकाले केही समस्या सिर्जना भएको छ उनले सघन शहरी र एडिविको कार्यक्रममा यस्ता समस्या आउनसक्ने बताए ।
उनले एडिविको सहयोगमा धनगढीमा ४५ किलोमिटर सडकमध्ये चालू आर्थिक वर्ष २०७४÷०७५ मा ४३ किलोमिटर सडक निर्माणको कार्य अघि बढाइने बताए । त्यस्तै, चालू आर्थिक वर्षभित्रै ल्याण्डफिल साइट निर्माणको कार्य पनि अघि बढ्ने बताए ।
कार्यक्रम संवाद समितिका सदस्य प्रकाशबहादुर बमको अध्यक्षतामा भएको थियो । संवाद समुहका संयोजक कर्ण शाहले सञ्चालन गरेको कार्यक्रममा माओवादी केन्द्रका नेता रमेश धामीले स्वागत गरेका थिए ।
कार्यक्रममा मेयर वड तथा उपमेयर सुशीला मिश्र भट्टलाई बधाई तथा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार