३० आश्विन २०८१, बुधबार

११ एआइजी थप्ने सरकारको निर्णय



काठमाडौं । सरकारले नेपाल प्रहरीमा थप ११ एआईजीको दरबन्दी सिर्जना गरेको छ । गृह मन्त्रालयले १३ एआईजी दरबन्दी बढाउन प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले असहमति जनाएपछि ११ मात्र थपिएको हो ।
दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णयसँगै गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गर्ने गर्छ । स्रोतका अनुसार गृहमन्त्री जनार्दन शर्मा बढुवा सिफारिस गरेर मंगलबारै सार्क राष्ट्रका गृहमन्त्रीसहित हुने सम्मेलनका लागि श्रीलंका जाने तयारीमा छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार ७ प्रदेशमा एआईजीको नेतृत्वमा कमान्ड रहने गरी बढुवा भएका एआईजीलाई जिम्मेवारी सुम्पने तयारी छ । प्रहरी प्रधान कार्यालयले जयबहादुर चन्द, बमबहादुर भण्डारी, माधव जोशी, विजय भट्ट, केशरी घिमिरे, मधु पुडासैनी, देवेन्द्र सुवेदी, हेमन्त मल्ल, पशुपति उपाध्याय लगायतलाई एआईजीमा बढुवा गर्ने गरी नामावली तयार पारेको छ ।
प्रहरी नियमावली २०७१ जारी भएपछि बढुवामा देखिने बारम्बारको विवाद रोकिने धेरैको अपेक्षा थियो । तर प्रत्येक सरकारपिच्छे आफूखुसी एआईजीको संख्या थप्ने वा घटाउने क्रम जारी छ । हाल प्राविधिकतर्फ एक एआईजीबाहेकको पद रिक्त छ ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार