३ आश्विन २०८१, बिहीबार

सिसिएल विधिको पढाई प्रभावकारी बन्दै



हसुुलिया  ।  बाल केन्द्रित सिकाई (सिसिएल) विधिबाट पठनपाठन हुन थालेपछि बालबालिकाहरू पढाइमा निक्कै रुचि राख्न थालेका छन् ।
कैलालीका हसुलिया, फूलवारी र उर्माका ३० वटा विद्यालयमा बाल केन्द्रित सिकाई विधिबाट पढाई हुन थालेपछि विद्यार्थीहरू रमाउँदै पढ्न थालेका छन् ।
बाल केन्द्रित सिकाई विधिबाट पढाउँदा शिक्षक र विद्यार्थी दुईवटै पक्ष निक्कै रमाएका छन् राष्ट्रिय निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरसिंह तारामीमगरले बताए । बाल केन्द्रित सिकाई विधिमा एक शिक्षकलाई एउटा कक्षाको जिम्मेवारी दिइन्छ त्यसरी जिम्मा पाएपछि शिक्षक विद्यार्थीहरूले समय बितेको पत्तो नै पाउँदैनन् उनले बताए ।
खेल, गीत, नाच लगायतका विभिन्न तरिकाले कार्पेटमा बसेर पढ्ने पढाउने भएकोले कुनै दिन त छुट्टी हुने समय पनि याद हँुदैन सोही विद्यालयकी शिक्षिका गायत्री पाठकले बताइन् । राष्ट्रिय निम्न माविमा खाजा कार्यक्रम छैन त्यसैले बच्चा र शिक्षकले खाजा घरबाटै ल्याउँछन्, भोक लाग्दा खान्छन् तर कक्षा कोठाबाट बाहिर कमै निस्कन्छन् ।
हसुलियाको जनसेवा प्राविमा त पहिले स्कुल पठाउन तयार गर्नुपर्ने विद्यार्थी आफै तयार हुन्छन् । कक्षा ३ का विद्यार्थी आर्यन चौधरीकी आमा रीतादेवी चौधरी भन्छिन्, मेरो छोरा अहिले स्कुल जान भनेपछि खुसी हुन्छ बिदा भएको दिन दिक्क मान्छ । आर्यन एक बोर्डिङ स्कुलको पढाई छोडर सरकारीमा आएका हुन् ।
हसुलिया, उर्मा र फूलवारीका ३० स्कुलमा कक्षा १ देखि ३ सम्मका कक्षामा बाल केन्द्रित सिकाई विधिबाट पढाई हुन थालेको छ । फूलवारी आधारभूत स्कुलका शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण चौधरी अब आफ्नो स्कुल बोर्डिङ भन्दा राम्रो हुने बताउँछन् । पढाइका साथै सरसफाई र अनुशासनमा विद्यार्थीमा आएको परिवर्तन देखेर आफू दंग परेको उनी बताउँछन् ।
बाल केन्द्रित सिकाई विधिको पठनपाठनको अवस्था बुझ्न बुधबार विभिन्न विद्यालय पुगेका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्ट यो विधि नयाँ भएकोले शिक्षक विद्यार्थीले रुचाएको बताए । यो विधिलाई जोगाउन र विस्तार गर्न आवश्यक छ उनको भनाई छ त्यसका लागि शिक्षक र अभिभावकको सम्बन्ध सुमधुर बनाउनु पर्छ । सम्बन्ध सुधार हुँदा विद्यालयका समस्यामा अभिभावकहरू जिम्मेवार भएर समाधान गर्न लाग्छन त्यसले विद्यालयको समग्र अवस्थामा पनि सुधार ल्याउँछ उनको बुझाइ छ ।
प्रगतिशील स्थानीय स्रोत परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजना अन्तर्गत फाया नेपालले बाल केन्द्रित सिकाई विधिबाट पठनपाठन थालेको हो । फायाका अध्यक्ष शेरबहादुर बस्नेत विद्यालयको शैक्षिक उपलब्धि बढाउन शैक्षिक सामग्री, खेल सामग्री, कार्पेटलगायतका नयाँ खालका सामग्री दिइएको बताउँछन् । बच्चाहरू बसेर पढ्न आनन्द मान्छन् त्यसैले पनि उनीहरूको रुचि बढेको हुनसक्छ उनको भनाई छ ठिक समयमा नास्ता खान पाउँदा पनि बच्चाहरू पढ्न उत्साहित हुन्छन् ।
शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयमा निरन्तर आमा समूहको बैठक, बाल दिवस, सोसल अडिटलगायतका क्रियाक्लाप पनि गर्ने गरिएको छ । यसैबिच, प्रगतिशील स्थानीय स्रोत परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाको जिल्ला परियोजना सल्लाहकार समिति बैठक बिहीबार बसेको छ । बैठकले सो परियोजना सकेसम्म अरू विद्यालयमा पनि बिस्तार गर्ने लगायतका विषयमा छलफल गरेको थियो । जिल्ला विकास समितिका कार्यक्रम अधिकृत योगेन्द्र ओझाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला शिक्षा अधिकारी विष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार