१ कार्तिक २०८१, बिहीबार

निर्वाचनमा सहभागिता बढेको छ– गृहमन्त्री



धनगढी । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनमा दल र सर्वसाधारणको सहभागिता बढ्दै गएको बताएका छन् ।
‘पहिलो चरणको निर्वाचनमा समाजवादी र फोरमले सहभागिता जनाए’ मंगलबार धनगढीमा आयोजित ७ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री शर्माले भने– ‘अहिले राजपा र विप्लव माओवादी पनि सहभागी भएका छन् ।’
उनले सरकारले दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न पुरा तयारी गरेको बताए ।
गृहमन्त्रीले मुलुकका सबै राजनीतिक दललाई चुनावमा सहभागी गराउन सरकारले २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते सारेको बताए ।
उनले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउनका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रीले योजनाबद्ध तरिकाले मतदातालाई सुरक्षा अनुभूति हुने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख दीपक काफ्लेले सो अवसरमा धारणा व्यक्त गरेका थिए ।
गोष्ठीमा नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिनेशकुमार घिमिरे, निर्वाचन आयुक्त सुधिरकुमार शाह लगायत ७ नम्बर प्रदेशका तीन वटै निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार