हिउँदे बालीको तयारी गर्नुपर्ने बेला धानबाली भित्र्याउन समस्या
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३, शिवविकास टोल । यो रानाथारूको बाक्लो बसोबास भएको टोल हो । गाउँको मध्यमा रहेको एक सानो चिया पसलमा केही व्यक्ति गफमा मग्न छन् । दिउँसो समय थियो । पत्रकारहरूको एक टोली त्यहाँ पुग्दा एकजना गोरु गाडामा धान ओसारीरहेका थिए । पर खेतमा केही महिला र पुरुष धान काटिरहेका थिए । हामीले सोध्यौं– “धान काटेर थकाई मार्दै हुनुहुन्छ कि क्या हो ?” उत्तर आयो– “के को धान काट्नु । पाखोतिर जमिन भएकाहरूले काट्दै छन् । गहिरो स्थानका खेतमा पानी छ, कहाँबाट काट्नु ?”
धनगढीकै वडा नम्बर १३, दुर्गाटोलका किसान पनि धान भित्राउन नपाएर हैरान छन् । केहीले पानी भरिएकै खेतमा पनि धान काटेर सडक किनारामा सुकाउने गरेका छन् । बढी पानी भएको खेतमा भने किसानहरू पानी सुक्ने प्रतिक्षामा छन् । ५२ वर्षीय दयाराम रानाले भनेगएको वर्ष कुवेला परेको वर्षाका कारण पाकेको धान भित्राउन पाएनौ । कतिपयको त ठाडो धानबोटमा नै उम्रियो । यस वर्ष पनि यस्तै हालत छ ।
धनगढीको वडा १३, दुर्गाटोल अथवा वडा ३ शिवविकास टोलमा मात्रै होइन, कैलालीका अधिकांस स्थानमा धान भित्राउन नपाएर हैरान छन् । असोज महिनाको तेस्रो सातासम्म पटक–पटक परेको अविरल वर्षाका कारण कैलालीका धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी र टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका लगायतका स्थानमा धानबाली डुबानमा परेका कारण किसानले पाकेको धान समेत भित्राउन पाइरहेका छैनन् ।
पटक–पटकको भारी वर्षाका कारण पाकेको धान खेतमै ढलेको छ । पानी नसुकेका कारण धान काट्न कठिनाई भइरहेको छ । खेतमा ढलेको धान देखाउँदै दयारामले भने– “यसरी खेतमा ढलेको धान कसरी भित्राउनु ? केही दिन घाम लाग्यो भने बल्ल धान काट्न सकिएला ।”
गाउँतिर अहिले पनि करिब १० प्रतिशत मात्रै धान भित्राउन सकेको किसानहरू बताउँछन् । सरजु लगायतका जातको धानका बोट हरियो नै भए पनि धान भने पाकिसकेको किसानहरू बताउँछन् । “खेतमा घुँडासम्म पानी छ, काटेर पनि कहाँ सुकाउने ?” किसानहरू भन्छन् ।
किसानहरूका अनुसार केहीले पानी मै धान काटेर गोरुगाडामा बोकेर भर ल्याउने गरिरहेका छन् । “आकाशको के भरोषा ? फेरि पानी पानी पर्यो भने त झन् नोक्सान हुन्छ,” धनगढी १३ का किसान रामचरणले भने– “त्यहीँ भएर पानी मै भए पनि धान काटिहरेका छौं ।”
विगतका वर्षहरूमा असोज महिनाभित्र प्रायः सबैले धानबाली भित्राएर हिउँदे खेतीका लागि खनजोतको तयारी गर्ने गर्दथे । तर, गत वर्ष झैं यस वर्ष पनि कार्तिक महिना शुरु हुन लाग्दा पनि धान भित्राउने काम नै सकिएको छैन ।
कतिपय किसानले मेसिन प्रयोग गरेर भए पनि धान (बाँकी ३ पेजमा) काटिरहेका तर, मेसिनबाट समेत धान काट्न समस्या भइरहेको कतिपयको अनुभव छ । “हिलाम्मे जमिन भएपछि मेसिन धसिने समस्या हुनेगरेको छ,” किसानहरूले भने– “खेत सुक्ने प्रतिक्षामा छौं ।” कृषि प्राविधिकहरूका अनुसार यस वर्ष कैलालीमा १० देखि १५ प्रतिशतसम्म धानबालीमा ह्रास आउने सम्भावना छ ।
कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धानबाली हुने गरेको छ ।