६ कार्तिक २०८१, मंगलवार

कक्षाकोठामा नै शिक्षकको ओच्छ्यान



धनगढी । एउटा विद्यालयमा दुई कोठा छन् । एउटा कोठामा प्रधानाध्यापकको सुत्ने कोठा, भान्सा, प्रशासन र कक्षा कोठा छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा पर्ने बाल आधारभूत विद्यालयको दृश्य हो यो ।
विद्यालयमा २६ जना विद्यार्थी रहेका छन् । दुई कोठे सो विद्यालयमा कक्षा तीनसम्म पढाई हुने गरेको छ ।
एउटा कोठामा कक्षा एक र दुई कक्षाको पढाई हुने गरेको छ भने अर्को कोठामा कक्षा तीनको पढाईका साथै स्कुलको प्रशासनिक काम पनि हुने गरेको छ । त्यस्तै सोही कोठामा प्रधानाध्यापकको पनि बसोबास रहेको छ ।
‘५५ देखि ६० घरधुरी रहेको सो गाउँमा रहेको सो विद्यालयको सुधारका लागि सरकारले कुनै चासो
दिएको छैन’ शिक्षिका सिद्धकला गिरीले भनिन्– ‘यो विद्यालय समुदायको सहयोगबाट जेनतेन चलिरहेको छ ।’ उनका अनुसार सो विद्यालयमा वर्षायाममा छतबाट पानी चुहिने समस्या पनि रहेको छ ।
सो स्कुलमा एकजना सरकारी दरबन्दीका शिक्षक छन् भने निजी स्रोतबाट एक शिक्षिका र एक कार्यालय सहयोगी कार्यरत छन् । समुदायको सहयोगबाट २०५१ सालमा स्थापना भएको बाल आधारभूत विद्यालयमा सरकारी क्षेत्रबाट पूर्वाधार विकासका लागि सहयोग प्राप्त हुन नसकेको गिरीले बताइन् ।
विद्यालयका अभिभावक संघका अध्यक्ष रामचन्द्र चौधरीले स्कुलको भवनमा पठनपाठनका कक्षा कोठाको अभाव भएको बताए । ‘अन्य स्कुलमा जान गाउँबाट चार किलोमिटर टाढा जानु पर्नेहुन्छ’ उनले सरकारी निकायबाट विद्यालयको भौतिक सुधारका लागि कुनै सहयोग प्राप्त नभएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदिन चौधरीले विद्यालयलेसमुदायको १५ कठ्ठा जग्गा ठेक्कामा दिने गरेको बताए । सोवापत विद्यालयले वार्षिक २० हजार रुपैयाँ प्राप्त गरिरहेको छ ।
अध्यक्ष चौधरीले सरकारी निकायबाट स्कुल स्थापना भएदेखि अहिलेसम्म विद्यालयको चर्पी निर्माणका लागि एक लाख र गाविसले स्कुल भवनमा रंगरोगन गर्न ४५ हजार रुपैयां दिएको बताए ।
कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्टले सो विद्यालयबाट भवनका लागि अहिलेसम्म कुनै माग नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार