६ कार्तिक २०८१, मंगलवार

चुनावी गतिविधि : विभिन्न वडामा घरदैलो तथा सभा



धनगढी । चुनावी प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसले सोमबार धनगढी उपमहानगरपालिकाका तीन वटा वडामा घरदैलो तथा चुनावी कोण सभा गरेको छ ।
सोमबार उपमहानगरपालिकाका वडा नम्बर ७, ८ र १२ मा घरदैलो तथा चुनावी सभा आयोजना गरिएको नेपाली काँग्रेस नगर प्रचारप्रसार समितिले जनाएको छ ।
चुनावी सभामा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले उपमहानगरपालिको चौतर्फी विकासका लागि नेपाली काँग्रेसको विकल्प नभएको चर्चा गरे । सांसद ओझाले धनगढीलाई स्मार्टसिटी बनाउने लक्ष्य नेपाली काँग्रेसले मात्रै पुरा गर्ने बताए ।
कार्यक्रममा उपमहानगरपालिका प्रमुख (मेयर) पदका उम्मेदवार नृपबहादुर ओडले आफू सधैं नगर र नगरबासीको हित तथा विकासका लागि प्रतिवद्ध रहेको बताए । उनले धनगढीलाई देशकै नमुना शहर बनाउने काँग्रेसको उद्घोष पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उपमहानगर उपप्रमुख (उपमेयर) का उम्मेदवार सुशीला मिश्र भट्ट, नेपाली काँग्रेस कैलालीका सचिवद्वय पूर्ण कँुवर र दीपकराज जोशी, महासमिति सदस्य आनन्दराज जोशी, नेता मनिराम देवल, पूर्व क्षेत्रीय सभापति उद्धव बिष्ट, विभिन्न वडाका अध्यक्षका उम्मेदवारहरूले मन्तव्य व्यक्त गरेका थिए ।
वडा नम्बर ७ मा भएको कोणसभा वडा सभापति देव सेठ्ठीको अध्यक्षतामा भएको थियो । त्यस्तै, वडा नम्बर ८ मा चेतराम राना र वडा नम्बर १२ मा वडा सभापति प्रताप बिष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार