२ माघ २०८१, बुधबार

झारफुक र ढिलाईले सर्पदंशका बिरामीको मृत्यू



टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नं ८ पालबजारका १७ वर्षका शिशिर चौधरीलाई गतसाता खाटमा सुतेकै बेला राति दुई बजेतिर हातको औलामा सर्पले टोक्यो । शिशिरले थाहा पाएपछि सर्पलाई मारेर परिवारका सदस्यलाई जानकारी दिनुभयो । परिवारका मानिसले गुरुवालाई बोलाएर झारफुक गराए । निको नहुने भएपछि विहानपख उपचारका लागि कोहलपुर लिएको र अस्पताल पुग्ने बेला श्वास छोडेको शिशिरका बुबा मनोज चौधरी बताउनुहुन्छ ।

गौरीगंगा नगरपालिका वडा नं २ झिलकी १४ वर्षकी ऋतु विकलाई घरैमा सुतेका बेला सर्पले टोक्यो । मोवाइलमा गीत हेरेर आमासंगै खाटमा निदाएकी ऋतुको हातमा राति सर्पले टोक्यो । सर्प देखिएन तर विष लागेको जस्तो भएपछि विहान सर्पदंश उपचार केन्द्र बढैपुर पु¥याउँदा मृत्यू र्भसकेको ऋतुका काका केशव विकले जानकारी दिनुभयो । मोवाइल हेर्दाहेर्दै सुतेकाले ऋतुका आमाछोरीले झुल लगाएका थिएनन् ।

सर्पले टोकेपछि झारफुकमा लाग्ने वा अरु कारणले समयमै उपचार नपाएका शिशिर र ऋतु जस्ता धेरै मानिसहरुको सर्पले टोकेर ज्यान जाने गरेको छ । तर समयमै उपचारका लागि छिट्टै अस्पताल जाने मानिसहरु भने मृत्यूबाट जोगिएका छन् ।

नेपाली सेनाको काली रक्षा गण बढैपुरस्थित सर्पदंश उपचार केन्द्रमा २०७८ बैशाख देखि साउनको २१ सम्म ११५ जना सर्पदंशका बिरामी पुगेका छन् । जिउदा पुगेका सबै जना उपचारपछि निको भएर घरफर्केका स्वास्थ्यकर्मी नेत्रबहादुर कार्कीले बताउनुभयो । ‘सर्पले टोेकेको मानिस तुरुन्तै अस्पताल पु¥याए बचाउन सकिन्छ ढिलो गर्दा कति घरैमा, कति बाटोमा त कति अस्पतालको गेटमा पुगेर मर्छन’ कार्की भन्नुहुन्छ, ‘अहिले पनि केही गाउँमा धामी गुरुवा लगाउने, झारफुक गराउने चलन छ सबैलाई अस्पताल जानुपर्छ भन्ने ज्ञान छैन ।’

सेती प्रादेशिक अस्पताल धनगढीमा २०७८ बैशाखदेखि असारसम्म ४० जना आएका छन् । ती मध्ये दुई जनाको मृत्यू भएको छ । यही अवधि १३ जना केले टोक्यो भन्ने थाहा नभएका बिरामी आएका र त्यस मध्ये एक जनाको मृत्यू भएको सिनियर अहेव भरतबहादुर खाती बताउनु हुन्छ ।

सर्पदंशको उपचार हुने टीकापुर अस्प्तालमा २०७८ बैशाखदेखि साउनसम्म ४५ जना सर्प दंशका बिरामी आइसकेका छन् यहाँ आएका सबै जना उपचारपछि निको भएर घर फर्केका छन् । शहरी क्षेत्रका मानिसहरु सचेत भैसकेकाले टोकाइ घटेको र यातायातका साधन सहजै उपलब्ध हुनाले टोकेका मानिस पनि छिट्टै अस्पताल पुगेर ज्यान जोगिन लागेको टीकापुर अस्पतालका डाक्टर लालसिंह टमट्टा बताउनुहुन्छ । सर्पले टोकेर अस्पताल पुगेका मानिसहरुको तथ्यांक हेर्दा ढिलो गरी अस्पताल पुगेका र टाउकोमा टोकेका बिरामीको मृत्यू हुने गरेकोे छ ।

टीकापुर अस्पतालमा बढिजसो लम्कीचुहा नगरपालिकाका बिरामी आउने गरेका छन् । सेती प्रादेशिक अस्पतालमा गोदावरी, चौमाला क्षेत्रबाट धेरै आउछन् भने नेपाली सेनाको कालीरक्षा गण बढैपुरस्थित उपचार केन्द्रमा कैलाली जिल्लाका मध्ये क्षेत्र र दक्षिणी पालिकाका मानिसहरु आउने गरेका छन् ।

कैलालीका गोदावरी, मसुरिया, चौमाला, लम्कीचुहा क्षेत्र चुरेको फेदिमा पर्छन । गेग्रयान भएकाले सर्प सजिलै हुर्किने, मानिसहरु घरसंगै गोठ र घरसम्मै खेती लगाउने गर्नाले सर्पहरु घरसम्मे पुग्ने गरेको गौरीगंगा नगरपालिका वडा न. २ झिलका चन्द्र कँडेल बताउनुहुन्छ ।

सबै सर्प विषालु हुदैनन् । विषालु सर्पले टोकेको भएमात्रै औषधि चाहिन्छ । केही विष नलागेका बिरामीलाई सञ्चो भएको मानेर गाँउघरमा झारफुक गर्न थाल्छन तर साच्चिकै विषालु सर्पले टोेकेको भए ज्यान गैहाल्छ । तराईका करेत र कोब्रा सर्पले टोक्ने र बिरामीलाई उपचारका लागि १० भाईल एन्टीस्नेक भेनम आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउनुहुन्छ । सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा आवश्यक मात्रामा भेनम मौजदात रहेको ती संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार