७ पुष २०८१, आईतवार

स्थानीय चुनाव–२०७४ : राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त



गौरीगंगा । दोस्रो चरणको स्थानीय तह निर्वाचन आउन २० दिन बाँकी छ । दलहरू उम्मेदवारी घोषणासंगै जनताको घरदैलोमा पुग्ने क्रम जारी छ । ठाउँठाउँमा चुनावी सभा भइरहेका छन् । जनता पनि निर्वाचनको दिनको व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिकाका कौशल्या चौधरी भन्छिन्– ‘हामी पनि चुनाव हुने दिनको प्रतीक्षा गरिरहेका छौं । गाउँमा यतिवेला राजनीतिक दल तथा उम्मेदवारहरूका सानाठूला कार्यक्रमको चाप बढेको छ ।’ ‘एक पक्षको चुनावीसभा सकिएलगत्तै अर्को पक्षको सभा र भेला भइहाल्छ’ कौशल्याले भनिन्– ‘प्राय:ले आफूलाई विजयी बनाएमा सबै समस्या समाधान गरिदिने अश्वासन दिने गर्दछन् ।’
अरु बेला जनताका समस्या समाधानका लागि खासै चासो नदेखाउने नेताकार्यकर्ता अहिले हारगुहार गरेर मत माग्न आउने गरेको गौरीगंगाकै मोतीराम चौधरीको अनुभव छ । ‘जो चुनिएर आए पनि उस्तै हो, रुचाएको उम्मेदवारलाई त भोट हाल्नै पर्ला’ उनले भने ।
गौरिगंगामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नयाँशक्ति पार्टी नेपाल, मधेसी जनाधिकार फोरम लगायतका दलले नगरपालिकाका विभिन्न वडामा प्रचारप्रसार तीब्र बनाइरहेका छन् ।
यसैबीच नेपाली कांग्रेसले शुक्रबार नगरपालिकाको वडा नम्बर ७ का माहदेवा, मटकौना लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको छ ।
नेकपा एमालेले पनि वडा नम्बर ६ को बनबेहडा तथा वडा नम्बर १० को उदासीपुरमा घरदैलो अभियान सम्पन्न गरेको जनाएको छ ।
माओवादी केन्द्रले शुक्रबार नगरपालिकाको वडा नम्बर ७ को बसन्तटोल तथा ईन्द्रपुरमा घरदैलो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार