६ कार्तिक २०८१, मंगलवार

आर्थिक विषयलाई प्राथमिकता दिऊ – गाउँले



धनगढी । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले संघीयता कार्यान्वयनसंगै सिंहदरबार गाउँमा आएपछि समाचारको प्राथमिकता पनि फेरिने बताएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समन्वय समितिले आयोजना गरेको ‘समृद्ध नेपालका लागि दिगो आर्थिक विकास’ विषयमा बुधबार धनगढीमा शुरु भएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘सिंहदरबारले खर्च गर्ने श्रोत पनि गाउँमा आयो, खर्च गर्ने अधिकार पनि गाउँमै आयो,’ गाउलेले भने, ‘अब समाचारका विषय र समाचार लेख्ने पत्रकार फेरिनुपर्छ आर्थिक विषयलाई प्राथमिकता दिनुपर्दछ ।’
नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटाले आर्थिक समाचारमा अनुसन्धान र तथ्यांक अति आवश्यक हुने भए पनि पत्रकारहरू यसैमा कमजोर देखिएको बताए ।
अर्थमन्त्रीका सल्लाहकार त्रिभुवन पौडेलले कुलो, बाटो, विद्यालय बनाउन बजेट माग्न काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको र ठूलो बजेट स्थानीय तहमा आउदा कसरी खर्च हुन्छ भन्नेमा मिडियाले निगरानी राख्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिका संयोजक प्रकाशविक्रम शाहको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालक महासंघका कैलाली अध्यक्ष जगत साउँदले गरेका थिए । दुई दिनसम्म चल्ने अन्तरक्रिया छलफलमा महासंघका पूर्व अध्यक्ष शिव गाउले, पूर्व उपाध्यक्षहरू गोविन्द आचार्य, गंगाधर पराजुलीले सहजीकरण गरिरहेका छन् । कार्यक्रममा बाजुराबाहेक प्रदेश नम्बर ७ का ८ वटा जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्ष लगायतका पदाधिकारी र कैलालीका पत्रकार सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार