५ जेष्ठ २०८१, शनिबार

विपद् जोखिम न्यूनीकरणका लागि तयारी



धनगढी । कैलाली सहित ७ नम्बर प्रदेशका जिल्लाहरूमा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि तयारी गरिएको छ ।
प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपुरमा हरेक वर्षायाममा बाढीको उच्च जोखिम रहने गरेको छ भने बाँकी सात पहाडी जिल्लाहरू पहिरो र बाढीको उच्च जोखिममा रहने गरेका छन् ।
प्रदेश नम्बर ७ का जिल्लाहरूमा विगतका वर्षहरूमा बाढीपहिरोबाट भएको क्षतिबारे दृष्टिगत गरी प्रत्येक जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्ययोजना निर्माण गरी सम्भावित जोखिम न्यूनीकरण कार्यलाई तयारी अवस्थामा राखको सुदूरपश्चिम क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाले बताए ।
शुक्रबार अनुमोदनसंगको टेलिफोन कुराकानीमा क्षेत्रीय प्रशासक ढुंगानाले प्रत्येक जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, पत्रकार लगायतको उपस्थितिमा विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना तर्जुमा गरी आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न, क्षतिलाई कम गर्न र खोजतलास र उद्धार तथा राहत र पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाइएको बताए ।
प्रत्येक जिल्लामा सरकारी तथा गैरसरकारी निकायलाई नौ क्लष्टरमा विभाजन गरेर फरक/फरक क्लष्टरको आ–आफ्नै कार्ययोजना निर्माण र विपद पूर्वतयारी कार्य गरिएको जनाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना, समन्वय, खोजी तथा उद्धार कार्य गरिरहेको बताए । त्यस्तै, जिल्ला समन्वय समितिको नेतृत्वमा पुन:निर्माण तथा पुनस्र्थापना, जिल्ला जनस्वास्थ्य कार्यालयको नेतृत्वमा स्वास्थ्य सेवा तथा नेपाल रेडक्रस सोसाइटीको आयोजनामा आपत्कालीन सेवा तथा राहतको क्षेत्रमा काम गर्ने गरी क्लष्टर छुट्याएर प्रतिकार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
अप्रत्यासित रूपमा आईपर्ने विपद्, जोखिम न्यूनीकरणका लागि आवश्यक खोज तथम उद्धार सामग्री, औषधी तथा राहत सामग्री, आर्थिक कोष, मानवीय स्रोत आदिको पहिचान गरी तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा सामुदायिक विपद् न्यूनीकरण समिति गठन गरिएको छ ।
त्यस्तै, पहाडी सात जिल्लाहरूमा पनि विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी भएको छ । प्राकृतिक विपद् जोखिमका दृष्टिले अछाममा सबैभन्दा बढि पहिरोको समस्या रहेको विगतका घटनाले देखाएको छ । अछाममा साविकका २१ वटा गाविसमा पहिरोको उच्च जोखम रहेका छन् भने साविक १७ गाविसमा बाढीको बढि जोखिम रहेको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले जिल्लाका बजार क्षेत्रसहित विभिन्न ठाउँमा आगलागी, चट्याङ, महामारीको समेत जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार