२८ पुष २०८१, आईतवार

कोरोना भाइरस संक्रमण रोकथाम प्रयास



  • मुख्यमन्त्रीद्वारा सिमानाका तथा हेल्थडेस्क अनुगमन
  • गेटा र धनगढीमा क्वारेन्टाइन राख्ने तयारी
  • कञ्चनपुरमा गड्डाचौकीबाहेकका नाका बन्द

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस संक्रमण रोकथामका लागि सिमानाकामा राखिएका हेल्थ डेस्कहरू अनुगमन गरेका छन् ।
मुख्यमन्त्री भट्टले, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र स्वाथ्यकर्मीहरूको टोली सहित शनिबार बिहान धनगढीको त्रिनगर भन्सार नाका तथा कञ्चनपुरको गड्डाचौकी नाकामा राखिएको हेल्थ डेस्क अनुगमन गरे ।
हेल्थडेस्क अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश सरकारले उच्च सतर्कता अपनाएको बताए । “सीमा नाकामा थप सुरक्षा र सर्तकताका लागि संघीय सरकारसित समन्वय गरिरहेका छौं’ मुख्यमन्त्री भट्टले सञ्चारकर्मीहरूसंग भने– प्रदेशका सबै स्थानीय तहमा हेल्थ डेस्कको स्थापना गर्न क्रम जारी छ ।
मुख्यमन्त्री भट्टले कैलाली र कञ्चनपुरमा क्वारेन्टाइन स्थापनाका लागि तयारी भइरहेको पनि जानकारी दिए ।
उनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक पूर्वतयारी अघि बढाइएको बताए । उनले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षित गर्नका लागि व्यवस्था गर्ने तयारी पनि भैरहेको बताए । उनले प्रदेशमा औषधीको अभाव नहुने बताए ।
कैलाली र कञ्चनपुर तराईका जिल्ला भएको र भारतसंग खुला सिमाना भएका कारण कोरोना भाइरस संक्रमणको बढि जोखिम भएकाले रोकथामका लागि युद्धस्तरमा काम भइरहेको बताए । उनले कोरोना भाइरस संक्रमण रोकथामका लागि तराई र पहाडी जिल्लामा क्वारेण्टाईन र आइसोलेसन कक्ष स्थापना गरिएको बताए । उनले कैलाली र कञ्चनपुरमा क्वारेण्टाईन र आइसोलेसन कक्ष थप्ने तयारी भइरहेको बताए ।
मुख्यमन्त्री भट्ट, सामाजिक विकास मन्त्री सुवेदीले भीमदत्त नगरपालिकास्थित महाकाली अस्पतालमा राखिएको आइसोलेशन कक्ष र भीमदत्त नगरपालिकाले क्वारेण्टाईन बनाइरहेको जिल्ला प्रशासनको पुरानो भवनको समेत अवलोकन गरेका छन् ।
मुख्यमन्त्री भट्टले कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारका लागि लागि महाकाली अस्पतालमा ५० शैयाको प्रिफाइभ आइसोलेसन वार्ड तत्काल निर्माण गर्ने घोषणा गरेका छन् ।
अनुगमनका क्रममा भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टले साझेदार संस्थाहरूसंग मिलेर कोरोना भाइरस रोकथामका लागि पूर्व तयारी भैरहेको जानकारी दिए । भीमदत्त नगरपालिकाले सामुदायिक भवनमा एक सय जनालाई राख्न सकिने गरी क्वारेण्टाईनको व्यवस्था गरिएको उनले बताए । बजार क्षेत्रमा हुने कालोबजारी रोक्नका लागि अनुगमन समेत तीब्र पारिएको उनले बताए ।
यसैबीच, अनुगमनको क्रममा मुख्यमन्त्री र सामाजिक विकास मन्त्री सहितको टोलीले क्वारेन्टाइन बनाउन गेटा मेडिकल कलेज र गेटा आ“खा अस्पतालको अवस्था बारे जानकारी लिएका छन् ।
त्रिनगर नाकामा पुगेका मुख्यमन्त्री भट्टले सर्वसाधारणसँग कुराकानी गर्दै अति जरुरी काम बाहेकको अवस्थामा आवतजावत नगर्न र कोरोनाको संवेदनशीलता बुझेर त्यस अनुरूपको सजगता अपनाउन अपिल गरेका छन् ।

गड्डाचौकी बाहेक सबै नाका बन्द गर्दे प्रशासनको निर्णय

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले पश्चिमी सीमा नाका गड्डाचौकी बाहेक अन्य सबै सिमानाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासनले कोरोना भाइरस संक्रमण भित्रिन नदिन शनिबार बैठक बसेर विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । उनले गड्डाचौकी नाकाबाहेक कञ्चनपुरका अन्य सबै नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको बताए ।
“गड्डाचौकी नाका हुदै स्वदेश फर्किएका नेपालीलाई आफ्नो गन्तव्य पुगिसकेपछि अनिर्वाय स्वास्थ्य परीक्षणका लागि यहा“का सबै स्थानीय तहसित समन्वय गर्ने निर्णय भएको छ’ प्रजिअ खतिवडाले भने– महाकाली अस्पालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने भनेका छौं । जिल्लामा रहेका सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स लगायतका सेवा तयारी अवस्थामा छन् ।’
बैठकले भीमदत्त नगरपालिकामा रहेको सिएमए छात्रावास र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्ने निर्णय समेत गरेको छ । भारतका विभिन्न शहरमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यहा“ रहेका नेपाली स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ ।
शनिबार भारतका विभिन्न शहरबाट दश हजारभन्दा बढी नेपाली कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीबाट घर फर्किएका छन् । गड्डाचौकी नाकामा नेपाल आउनेहरूको भिड बढेपछि नेपाली सेना समेत परिचालन भएको छ ।
श्रीसिंह शार्दुल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजंग मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ । “बिहान एक्कासी घर फर्किनेको भीड बढेपछि स्वास्थ्य परीक्षण गर्न नै कठिनाई भएपछि हामीले त्यसको व्यवस्थापन ग¥यौं’ नेपाली सेनाका सहायक रथी शंकर पण्डितले भने– हामीले सबै नाकामा उच्च सतकर्ता अपनाएका छौं ।

भारतका विभिन्न शहरमा कोरोना भाइरसको संक्रमण देखापरेपछि रोजगारी तथा अन्य कामका लागि त्यहा रहेका नेपालीहरू घर फर्किरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार