लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : भाषणले मात्रै महिलामाथिको हिंसा रोकिदैन– मन्त्री सुवेदी
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीले भाषणबाट मात्रै महिलामाथि हुने विभेद र हिंसा कम नहुने बताएका छन् । मन्त्री सुवेदीले हरेकले आफ्नो प्रतिवद्धतालाई व्यवहारमा लागू गरे मात्र महिलामाथि हुने कुनै पनि प्रकारका हिंसा र विभेद कम हुने विश्वास व्यक्त गरे ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) सुदूरपश्चिम प्रदेश र जिल्ला समितिले आइतबार धनगढीमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा मन्त्री सुवेदीले भने– “समाज रूपान्तरणका लागि हरेकले आफ्ना बाचा र भाषणलाई व्यवहारमा उतार्नु जरुरी छ ।”
मन्त्री सुवेदीले अहिले पनि सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा विभिन्न कारणले महिलामाथि विभेद तथा हिंसा भइरहेको चर्चा गरे ।
कार्यक्रममा फेकोफनका प्रदेश उपाध्यक्ष जददिश अवस्थी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम फेकोफनका प्रदेश अध्यक्ष देवबहादुर कुँवरको अध्यक्षतामा भएको थियो ।