१५ पुष २०८२, मंगलवार

वन वातावरण श्रमिक संघमा साउँद



धनगढी । वन वातावरण श्रमिक संघ, कैलालीको प्रथम जिल्ला अधिवेशन शेरबहादुर साउँदको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै मंगलबार धनगढीमा समापन भएको छ ।
११ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा रेखादेवी देवकोटा, सचिवमा यशोदा भण्डारी, कोषाध्यक्ष रंगाकुमारी भट्टराई तथा सहसचिवमा भरत भण्डारी निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमितिको सदस्यमा लक्ष्मी चलाउने, ईश्वरी रावल, निलम शर्मा, चन्द्रा खत्री, अनिता चौधरी र अन्नतरानी चौधरी रहेका छन् ।
यसअघि अधिवेशनको नेपाली काँग्रेसका जिल्ला सभापति नरनारायण शाह मनुले उद्घाटन गरेका थिए । सो अवसरमा सभापति शाहले वन श्रमिकहरूले अधिकार प्राप्तीका लागि संगठित हुन आग्रह गरे । उनले ‘वन तस्कर तथा वन माफियाहरूको शोषण र मारमा वन श्रमिकहरू रहेको’ चर्चा गर्दै सामुदायिक वन उपभोक्ता महासंघभित्र पनि कमाउने र दलगत राजनीति गर्न खोज्ने प्रवृत्तिका कारण समस्या बढेको बताए ।
उनले सामुदायिक वनभित्र घुसेर प्रदेश र प्रतिनिधि सभा सदस्य बन्नेहरूले कहिल्यै पनि वन श्रमिकहरूको अधिकारबारे काम नगरेको आरोप लगाए ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले कम्यूनिष्टहरू अहिले सामुदायिक वन उपभोक्ता महासंघका नाममा वन श्रमिकहरूमाथि शोषण गरिरहेको आरोप लगाए ।
वन वातावरण श्रमिक संघका केन्द्रीय सदस्य तुलसी देवकोटाले कम्यूनिष्टहरू बनमाथि कब्जा गर्ने योजनामा लागेको आरोप लगाइन् । उनले जिल्लामा कम्यूनिष्टहरूले नेतृत्व गरेका सामुदायिक वनमा आर्थिक भ्रष्टाचार व्याप्त रहेको बताइन् ।
कार्यक्रममा शिवपुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धिबहादुर खडका, नेपाली काँगेस कैलालीका सदस्य नृपबहादुर सुनार, वन वातावरण श्रमिक संघ, कैलारी गाउँपालिकाका अध्यक्ष राचरण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यादवप्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वन वातावरण श्रमिक संघ, नेपाल, सुदूरपश्चिम प्रदेश अध्यक्ष डण्डीराज सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार