एकीकृत घुम्ती शिविर सञ्चालन
धनगढी । डोटीको बोगटान गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमा सात सय ३३ नागरिकता वितरण गरिएको छ । बोगटान गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा ठूलो परिणाममा नागरिकता वितरण गरिएको बोगटान गाउँपालिकाका कार्यालय डोटीले जानकारी दिएको छ ।शिविरमा चार सय मतदाता परिचयपत्र वितरण, एक सय ३१ जनाको स्वास्थ्य उपचार तथा चेकजाँच, दुई सय २५ पशुसेवा सम्बन्धीका सेवाहरू प्रदान गरिएको बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
मंसिर ७ र ८ गतेका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको चाप धेरै भएपछि ९ गतेका लागि पनि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार जिल्लाका ग्रामीण भागमा सञ्चालन गरिएका शिविर मध्यममा सबै भन्दा बढी नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौड्यलले बताए ।
कामको शिलशिलामा भारतमा गएका पुरुष तथा महिलालाई बढी भन्दा बढी नागरिकता बितरण गरिएको हो । मेला पर्बको समयमा धेरै युवाहरू गाउँमा आएको बेलामा नागरिकता प्राप्त गरुन भन्ने उदेश्यका साथ शिबिरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
बोगटान गाउँपालिका वडा नम्बर ४ सात्फरीका ७० वर्षीय भीम दमाईलाई नागरिकता हस्तान्तरण गर्दै सुरु भएको शिविर तीन दिनसम्म गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका बीचमा सहकार्य गरेर डोटीमा पहिलो पटक एकीकृत घुम्ती शिविर बोगटान गाउँपालिकामा सञ्चालन गरिएको हो ।