१४ कार्तिक २०८१, बुधबार

वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूद्वारा बैठक वहिस्कार



जानकी । जानकी गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले शुक्रबारको कार्यपालिका बैठक वहिस्कार गरेका छन् । गाउँपालिका अध्यक्षबाट मनोमानी ढंगले काम हुने गरेको आरोप लगाउँदै कार्यपालिकाका पाँच जना सदस्य तथा नौ जना वडाध्यक्षहरूले बैठक बहिस्कार गरेका हुन् । जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष समेत १७ जनाको कार्यपालिका भए पनि शुक्रबारको बैठकमा अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्य शान्ति विक मात्र उपस्थित भएपछि कार्यपालिकाको बैठक स्थगित गरिएको थियो ।  “हामी वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटकपटक राखेका मागप्रति कुनै सुनुवाई नभएपछि बाध्य भएर कार्यपालिका बैठक बहिस्कार गर्‍यौं” वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण चौधरीले भने– “गाउँपालिकाले वडाको अधिकार समेत आफैंले प्रयोग गर्न थालेपछि हामीले अध्यक्षलाई ज्ञापनपत्र समेत बुझाएका छौं ।”
वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले गाउँपालिकाको चौमासिक बजेट विवरण कार्यपालिकाको बैठकमा सार्वजनिक गर्नुपर्ने, नमुना विद्यालयका लागि दिएको रकम प्रध्यानाध्यापकके व्यक्तिगत खातामा जम्मा गर्नुको कारण बताउनुपर्ने, कार्यपालिकाबाट निर्णय नगराई आफूखुसी खरिद भएका सामग्रीको बिल सार्वजनिक गर्नुपर्ने, टिपर भाडामा दिएवापत उठेको रकम सार्वजनिक गर्नुपर्ने लगायत आठ वटा माग राखेर अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।
“गाउँसभा र कार्यपालिका कहीबाट पनि निर्णय नगरी वडाको बजेट समेत गाउँपालिका अध्यक्ष आफैंले परिचालन गर्न थालेका छन्, सामान खरिदमा व्यापक भ्रष्टाचार भएको हामीसँग प्रमाण छन्” वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीले आरोप लगाए– “गाउँपालिका भ्रष्टाचारको अखडा बनेको छ । जनता निरास छन् । त्यसैले हामीले बाध्य भएर कार्यपालिकाको बैठक वहिस्कार गर्नुपरेको हो ।”
“जानकी गाउँपालिकाले सामान खरिदमा होस् या हरेक विकास निर्माण कार्यमा होस्, अध्यक्षलाई कमिशन चाहिन्छ, आफ्नै क्षेत्रीय सभापतिसँग दुई लाख रुपैयाँ घुस माग्नेले सर्वसाधारणसँग कस्तो व्यवहार गरेका होलान् ?” नाम नछाप्ने सर्तमा नेपाली काँग्रेसका एक जना क्षेत्रीय पदाधिकारीले भने– “जानकी गाउँपालिका भ्रष्टाचारको अखडा भयो । त्यसैले अब जनता अख्तियारमा जानुपर्छ ।” ती क्षेत्रीय पदाधिकारीले गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीको मनपरी अचाक्ली बढेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार