विद्यार्थी अभिभावकलाई विपद् जोखिमबारे शिक्षा
लम्की । कैलालीको लम्कीचुहा नगरपालिका तथा कैलारी गाउँपालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको विपद् जोखिम न्यूनीकरण कार्यक्रमका माध्यमबाट विद्यार्थी, अभिभावक तथा शिक्षकमा विपद्बारे व्यवहारिक शिक्षा प्रदान गरिएको छ ।
युरोपियन युनियन, मानवीय सहायता तथा नागरिक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्डभिजन ईन्टरनेशनल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाजद्वारा विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा परियोजना लागू भएको छ ।
कार्यक्रमबाट विपद् जोखिम न्यूनीकरणबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्राप्त भएको सहभागीहरूको अनुभव छ । जनसेवा माध्यामिक विद्यालय, गणेशपुरका फोकल शिक्षक गंगा भण्डारी कार्यक्रमले आफूहरूमा व्यवहारिक ज्ञान प्राप्त भएको बताउँछिन् ।
कैलालीकै लम्कीचुहा नगरपालिका वडा नम्बर ४, चौरीपुरमा रहेको जनता माध्यामिक विद्यालय तथा कैलारी गाउँपालिकास्थित जानकी माध्यामिक विद्यालयका फोकल शिक्षकहरू भन्छन्– “विपद् कसैलाई भनेर आउँदैन, न त यसबारे पूर्व जानकारी नै हुन्छ । तर, मौसम पूर्वानुमानका आधारमा विपद्बारे सतर्कता भने अपनाउन सकिन्छ र विपद्को क्षति कम गर्न सकिन्छ ।”
कैलारी गाउँपालिका वडा नम्बर ६, वनकट्टामा रहेको जानकी माध्यमिक विद्यालयका छात्रा अर्पणाकुमारी चौधरीको अनुभवमा विद्यालयमा सञ्चालन भएको विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा परियोजनाका कारण आवश्यक ज्ञान प्राप्त भएको छ ।
कार्यक्रमअन्तर्गत विपद् जोखिम न्यूनीकरणको लागि वार्षिक मौसमी पात्रो, सुरक्षित स्थान र महत्त्वपूर्ण टेलिफोन नम्बरहरू विद्यालयमा सबैले देखिने ठाउँमा राख्न लगाइएको छ । त्यस्तै, स्थानीय तहहरूबाट विपद् जोखिम न्यूनीकरणलाई दृष्टिगत गरी वार्षिक बजेटमा रकम समेत विनियोजन गरिएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्तबहादुर चलाउने भन्छन्– “विगतमा वडाको बजेटमा विपद् जोखिम न्यूनीकरणका लागि खासै बजेट छुट्याइएको थिएन । यस वर्षदेखि केही बजेट विनियोजन गरिएको छ ।” वडाध्यक्ष चलाउनेले विपद् जोखिम न्यूनीकरणका लागि वडामा कोष निर्माणका लागि पहल भइरहेको बताए ।
त्यस्तै, लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगरपालिकाका शिक्षा तथा सामाजिक विकास शाखा संयोजक जनकबहादुर बमले नगरको शिक्षा नीतिमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी पाठ्यक्रम तयार पार्ने योजना राखिएको बताए ।
लम्कीचुहा नगरपालिकाले सरोकारवाला संघसंस्थाहरूको समन्वयमा शिक्षा भइपरी समिति समेत गठन गरिसकेको नगरपालिका स्तरीय विपद् जोखिम तथा वातावरण व्यवस्थापन समिति सदस्य सचिव विष्णु खनालले जानकारी दिए ।
उनले नगरपालिकामा रहेका विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरण योजना बनाउनुका र छिट्टै नगर कार्यपालिकाबाट अनुमोदन गरिने बताए ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी विद्यालय सुधार परियोजनाबाट विद्यार्थी तथा अभिभावकमा उल्लेख्य परिवर्तन आएको बताउँछन् । उनले गाउँपालिका र वडा स्तरमा विपद् व्यवस्थापन समिति गठन गरिएको बताए ।




