१८ बैशाख २०८१, मंगलवार

जाखोर ताल सफा गरिदै



धनगढी । जिल्ला वनस्पती कार्यालय कैलालीले माछापालनमा रोक लगाएसँगै धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको जाखोरतालमा फैलिएको जलकुम्भी हटाइने भएको छ ।

फाइल तस्बिर

जाखोर ताल धनगढीको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिएको छ । वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाका अनुसार साविक धनगढी नगरपालिकाले २०५४ सालमा सो ताल क्षेत्रको स्वामित्व जिल्ला वनस्पती कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
उनका अनुसार वनस्पति कार्यालयले स्थानीय समूहलाई सो ताल क्षेत्रको भोगचलनको अधिकार दिएकोमा २०७३ सालदेखि रोक लगाएको थियो ।
उनले भने, “स्थानीय महिला समूहले तालमा माछापालनका लागि ठेक्कामा दिने समयमा तालको सरसफाई समेत हुने र जलकुम्भी पनि हटाइने गरेको थियो । तर, तालको उपभोगमा रोक लगाएपछि जलकुम्भीले ताल ढाकिएको छ ।”
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जलकुम्भी भरिएका कारण ताल निकै कुरूप बनेको बताए । उनले जाखोरतालको जलकुम्भी हटाउन आफू र कैलालीका प्रमुख जिल्ला अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिरहेको बताए ।
जाखोरताल करिब १२ हेक्टर जग्गामा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार