१४ कार्तिक २०८१, बुधबार

श्रवणशक्ति कम भएकाहरूका लागि नमुना विद्यालय– नगर प्रमुख वड



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले धनगढीको बेलागाउँमा श्रवणशक्ति कम भएका विद्यार्थीहरूका लागि नमुना विद्यालय निर्माण गरिने घोषणा गरेका छन् ।
बेलागाउँमा बिहीबार दक्षिणकाली आधारभूत विद्यालयको तीन कोठे भवनको सिलान्यास कार्यक्रममा नगर प्रमुख वडले उपमहानगरपालिकाले आफ्नो नीति र कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरूलाई अवसर दिइने नीति अवलम्बन गरेको स्मरण गरे ।
उनले भने– “धनगढी उपमहानगरपालिकामा श्रवणशक्ति कम भएका विद्यार्थीलाई पठनपाठन गर्ने एउटामात्र विद्यालय रहेको छ, त्यसैले यसलाई नमुना विद्यालय बनाउन हामी प्रतिवद्ध छौं ।”
उनले विद्यालय भवन निर्माण गर्नका लागि स्थानीयसँग कम्तिमा एक दिन श्रमदान गरिदिन आग्रह गरे ।
कार्यक्रममा बहिरा संघ कैलालीका अध्यक्ष दिनेश पनेरूले श्रवणशक्ति कम भएकाहरूका लागि बिद्यालय भवन निर्माण गर्न सहयोग गर्नेहरूलाई धन्यवाद दिए । उनले सबैको सहयोग भए चाँडै यस विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालन गरिने बताए । उनका अनुसार धनगढी उपमहानगरपालिका र विल्ड अनको सहयोगमा सो विद्यालय निर्माण भइरहेको छ ।
भवन निर्माण समिति र विल्ड अनबीच बिहीबार नै सम्झौता भएको विल्ड अनका ईन्जीनियर गोकुल जोशीले बताए । यस विद्यालयमा ९० जना विद्यार्थीमध्ये ३५ जना बहिरा विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार