निष्ट लिटिल फ्लावर प्रिमियर लिग सुरु
धनगढी । धनगढीमा मंगलबारदेखि विद्यालय स्तरीय निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट शुरु भएको छ ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा शुरु भएको क्रिकेट प्रतियोगिता मंसिर ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । यो लिगको तेस्रो संस्करण हो ।
प्रतियोगिताको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक समारोहबीच उद्घाटन गरे । प्रतियोगितामा देशभरिका १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो दिन भएको खेलमा साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पियन एकेडेमी विजयी भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सिद्धार्थले निष्ट भक्तपुरलाई पराजित गर्यो भने दोस्रो खेलमा क्यास्पियन एकेडेमीले शारदा माविलाई हरायो ।
पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदनले निष्ट भक्तपुरलाई चार रनले हरायो ।
नेपाल प्रहरीको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै सिद्धार्थ शिशु सदनले निर्धारित १० ओभरमा पाँच विकेटको क्षतिमा ६३ रन बनायो । सिद्धार्थका गजेन्द्र बोहराले १८, सुरेन्द्र साउँदले अविजित १५ र खडक बोहोराले १४ रन बनाए । बलिङतर्फ निष्ट भक्तपुरका सोहन यादवले दुई विकेट लिएका थिए ।
प्रतिउत्तरमा निष्ट भक्तपुरे निर्धारित १० ओभरमा तीन विकेट गुमाएर ५९ रनमा सीमित भयो । निष्टका शिशिर केसीले १९ र सोहन यादवले १४ रन बनाएका थिए । निष्टमाथि चार रनको जीत दर्ता गर्न अहं भूमिका निर्वाह गरेका सिद्धार्थका प्रकाश थापाले दुई ओभरमा छ रन मात्र खर्च गर्दै दुई विकेट लिए । उनी खेलको म्यान अफ द म्याच बने ।
मंगलबार नै भएको दोस्रो खेलमा धनगढीको क्यास्पियन एकेडेमीले शारदा माविलाई १४ रनले हरायो ।
टस जितेर पहिले व्याटिङ गरेको क्यास्पियनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो । क्यास्पियनका दिनेश अधिकारीले ३० रन, प्रकाश पाठकले २० र निशान बोगटीले १८ रन बनाए ।
एक सय दुई रनको विजय लक्ष्य सहित ब्याटिङ गर्न उत्रिएको शारदा मावि १६ दशमलव तीन ओभरमा ८७ रनमा अलआउट भयो ।
शारदाका दीपक टमट्टाले ३४ र जीवन मगरले २२ रन बनाए पनि अरू खेलाडीले दोहोरो अंक छुन सकेनन् । शारदालाई हराउने क्रममा क्यास्पियनका रोशन अधिकारी एक्लैले छ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच बने । क्यास्पियनका निराजन रावलले पनि दुई विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आज (बुधबार) कैलाली मोडेल र विज्डम एकेडेमी तथा मोदाक्षा काठमाडौं र एवीसी स्कुल नेपालगञ्जबीच खेल हुने छ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । भने उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउने छ ।
त्यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले १० हजार तथा उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीले पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेज लैनचौर रहेको छ ।