छठ पर्व : अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ
धनगढी । छठ पर्वको तेस्रो दिन ब्रतालुहरूले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिएका छन् । धनगढीको मोहना नदी घाटमा ठूलो संख्यामा रहेका ब्रतालुले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई एकसाथ अर्घ दिए ।
सामाजिक पर्वको रूपमा परिचित रहेको छठ पर्वमा धनगढीको मोहना नदी किनारा पनि सिँगारिएको छ । मोहना नदी किनारमा रातभरि नै जाग्राम बस्ने भएकोले मनोरञ्जनको लागि नाच, नौटंकीको समेत व्यवस्था मिलाइएको छ । त्यस्तै घाटमा बत्ती, टेन्ट, पण्डालको समेत व्यवस्था गरिएकोले स्थानीयहरू रातभरि नै पूजास्थलमै बस्ने भएका छन् ।
छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा अनुसार अर्घ दिइएको हो । तराईमा यस विधिलाई साँझको अर्घ अर्थात् ‘सझुका अर्घ’ भनिन्छ ।
पोखरी, इनार, तलाउ, नदी आदि ठाउँहरूमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ ।
बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ ।
आइतबारबाट विधिवत रूपमा सुरु भएको छठ पर्वको दोश्रो दिन ‘खरना’ विधि गरिएको थियो । छठ पर्वको दोस्रो व्रतालुहरूले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाएको विधिलाई ‘खरना’ भन्ने गरिन्छ ।
अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्त्वपूर्ण पर्व छठ मनाइएको छ । भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत संकल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ ।
त्यस्तै छठको अन्तिम दिन अर्थात् आज (बुधबार) एकाबिहानै उदाउदो सूर्यलाई अर्घ दिएर छठपर्वको समापन गरिने भएको छ ।




