१४ कार्तिक २०८१, बुधबार

संगठन विस्तारका लागि उपयुक्त समय– शाह



धनगढी । नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले अहिलेको समय पार्टीको संगठन विस्तार तथा सुदृढीकरणका लागि उपयुक्त रहेको बताएका छन् ।
उनले पार्टीको तल्लो तहमा गुटउपगुटको लगभग अन्त्य भइसकेको र उपल्लो तहमा रहेको गुटबन्दी पनि समाप्तीतिर उन्मुख रहेको चर्चा गरे ।
नेपाली काँग्रेस धनगढी नगर समितिले मंगलबार यहाँ आयोजना गरेको दशैं, दिपावली, छठ तथा नेपाल सम्वतको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा जिल्ला सभापति शाहले मंसिरदेखि फागुन महिनासम्मको समय संगठन निर्माण, विस्तार र सुदृढीकरणका लागि बढी उपयुक्त रहेको बताए ।
उनले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूसँग समन्वय गर्दै काम गर्न नेताकार्यकर्ताहरूसँग आग्रह गरे । उनले भने– “हामी समन्वयमा चुकिरहेका छौं । अहिलेको अवस्थामा झिनामसिना स्वार्थमा लागेर पार्टी संगठनलाई कमजोर बनाउनेतर्फ कोही पनि लाग्नु हुँदैन ।”
कार्यक्रममा प्रदेश सभा सदस्यहरू दिव्यश्वरी शाह, डिल्लीराज पन्त र टेकबहादुर रैका, महासमिति सदस्य नारायणदत्त भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाली काँग्रेस धनगढी नगरका सभापति तथा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गुट उपगुटका कुरा गरेर संगठन कमजोर बनाउने काममा नलाग्न नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरे ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला, क्षेत्रीय तथा नगर समितिका पदाधिकारी तथा सदस्य, पार्टीका विभिन्न भातृ संगठनका प्रतिनिधि, सुभेच्छुक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार