६ पुष २०८१, शनिबार

नवजात शिशु र सुत्केरी बचाउने सामग्री वितरण (भिडियाेसहित)



धनगढी । नवजात शिशु र सुत्केरीको जीवन रक्षाका लागि १८ वटा स्वास्थ्य संस्थाहरूलाई उपचार सामग्री वितरण गरिएको छ ।
सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले संयुक्त रूपमा आयोजना गरेको मिडवाईफरी तीन दिने तालिमको समापन कार्यक्रममा सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको हो । हेल्पिङ्ग बेबिज ब्रिथ/हेल्पिङ्ग मदर्स सरभाइभ (बेब) कार्यक्रमले ‘मामाको नाताले’ लेखिएको झोला उपलब्ध गराएको हो ।
बच्चा जन्माउने क्रममा महिलामा हुने रक्तश्राव रोक्ने, बच्चा जन्माउन मद्दत गर्ने उपकरण तथा सामग्री भएको झोला सुत्केरीको जीवन रक्षाका लागि र जन्मिने बेला शिशुलाई स्वासप्रस्वास गर्न तथा आमाको गर्भबाट सुरक्षित रूपमा बाहिर आउन मद्दत गर्ने उपकरण तथा सामग्री भएको झोला बच्चाको लागि उपलब्ध गराइएका हेल्पिङ्ग बेबिज ब्रिथ/हेल्पिङ्ग मदर्स सरभाइभ (बेब) कार्यक्रमका संयोजक रञ्जन ढुंगानाले बताए ।

कार्यक्रमका संयोजक ढुंगानाका अनुसार सुत्केरीका लागि प्रयोग हुने झोलामा ६० हजार र शिशुको लागि प्रयोग हुने झोलामा ३५ हजार रुपैयाँको बराबरको सामग्री राखिएको छ । तालिममा प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १८ वटा संस्थाका ४२ जनाको सहभागिता रहेको थियो ।
ल्याटर डे स्यान्ट च्यारिटिजको प्राविधिक सहयोगमा आयोजित तालिमको सामापन समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सो सामग्री स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरेका थिए । तालिममा सहभागीमध्ये मिडवाईफरी प्रशिक्षक भएका स्वास्थ्यकर्मीहरूलाई तालिमका मास्टर टे«नर डा. माइकलले प्रशिक्षक भएकोमा मायाको चिनो दिएका थिए ।
सो अवसरमा मन्त्री सोडारीले तालिममा सिकेको ज्ञानसीपलाई संस्थामा गएर प्रयोग गरी राम्रो नतिजा आउने गरी काम गर्न निर्देशन दिए । उनले कुनै द्विविधा भएमा तुरुन्त फोन गरेर, सामाजिक सञ्जाल लगायतको माध्यमद्वारा प्रशिक्षकलाई सम्पर्क गरी निर्देशन अनुसार काम गर्न आग्रह गरे ।
तालिम सामापनमा मास्टर टे«नर माइकलले गाउँघरमा गएर प्रशिक्षार्थीहरूले शिशु र उनको आमाको ज्यान जोगाउने काम गर्ने आशा गरेको बताए । उनले गाउँमा गएर कुनै पनि आमा र शिशुको मृत्यु भएन भन्ने रिपोर्ट आएमा यो तालिम सफल भएको मानिने बताए ।
तालिममा जन्मिने वित्तिकै स्वासप्रवास गर्न नसकेर मृत्यु हुन सक्ने शिशु र अत्यधिक रक्तश्राव भएर मृत्यु हुन सक्ने सुत्केरीलाई बचाउने तरिका सिकाइएको सुनौलो नेपालका राकेश हमालले बताए । तालिममा विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र नर्सिङ कलेजका मिडवाईफरी शिक्षकहरूको सहभागिता थियो । सहभागीहरूलाई विदेशी मिडवाईफरी विशेषज्ञ प्रशिक्षक, नेपाली मिडवाईफरी प्रशिक्षक तथा स्वास्थ्यकर्मीहरूले तालिम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार