लैंगिक हिंसा न्यूनीकरण कार्यक्रम शुरु
धनगढी । धनगढी उपमहानगरपालिकामा बाल संरक्षण र लैंगिक हिंसा न्यूनीकरण कार्यक्रम सुरु हुने भएको छ ।
शुक्रबार सो कार्यक्रमबारे उपमहानगरपालिका र युनिसेफबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रममा नगर प्रमुख नृपबहादुर वड र यूनिसेफ फिल्ड कार्यालय नेपालगञ्जका निमित्त प्रमुख रामप्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
युनिसेफका अधिकृत गौतमका अनुसार सो कार्यक्रम विद्यालय र समुदायमा केन्द्रित हुने छ । उनले भने– “यो कार्यक्रम सन् २०२० जुनसम्म सबै वडामा सञ्चालन हुने छ ।”
सो अवसरमा उपमहानगरपालिका प्रमुख वडले यो कार्यक्रमले बालअधिकारको संरक्षणमा टेवा पुग्ने बताए ।
उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्रमले समुदाय तथा विद्यालय तहमा हुने महिला हिंसा न्यूनीकरणका लागि सहयोग पुर्याउने बताइन् ।