१४ कार्तिक २०८१, बुधबार

पीपीएलमा धनगढी ब्लुजको दोस्रो हार



धनगढी । पोखरामा जारी पोखरा प्रिमियर लीग (पीपीएल) को बुधबारको खेलमा एक्सपर्ट धनगढी ब्लुज पराजित भएको छ । जारी पीपीएलमा धनगढी ब्लुजको यो दोस्रो हार हो । यो हारले धनगढीलाई लीगको अघिल्लो चरणमा पुग्न निकै कठिन हुने भएको छ ।
पोखरा रंगशालामा बुधबारको खेलमा धनगढी ब्लुज चितवनसँग एक सय २६ रनको फराकिलो अन्तरले पराजित हुनपुग्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले दिएको एक सय ९४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा धनगढी ब्लुज १७ औं ओभरमा ६७ रनमा अलआउट हुन पुग्यो । धनगढी ब्लुजका पिटर ट्रेगोले २७ रन तथा योगेन्द्र कार्कीले १७ रन बनाए ।
धनगढीमाथि सानदार जीत हासिल गर्ने क्रममा चितवनका सन्नी पटेलले चार विकेट तथा भुवन कार्की र शक्ति गौचनले दुई–दुई विकेट लिए ।
यसअघि हरिशंकर शाह र अनिल शाहले पहिलो विकेटका लागि एक सय एक रनको शतकीय साझेदारी गरेपछि निर्धारित ३० ओभरमा चितवनले पाँच विकेट क्षतिमा एक सय ९३ रनको विशाल स्कोर खडा गर्‍यो । हरिशंकरले ३३ बलको सामना गर्दै छ चौका र तीन छक्का सहित ५३ रन बनाए । त्यस्तै, अनिलले ३४ बलमा तीन छक्का र एक चौका हिर्काउँदै ३७ रन बनाए । चितवनका कप्तान पारस खड्काले नौ बलमा १९ रन, स्मित पटेलको २४ रन, सन्नी पटेलले १६ बलमा २६ रन तथा करण केसीको छ बलमा ११ रन पनि उल्लेख्य रह्यो ।
धनगढी ब्लुजले अब लीग चरण अन्तर्गत बुटवल ब्लास्टर्स र पोखरा पल्टनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार