६ कार्तिक २०८१, मंगलवार

स्टिम परियोजनाको समीक्षा



धनगढी । सीमान्तकृत बालिकाहरूको शिक्षामा सहयोग परियोजना (स्टिम–२) ले सञ्चालन गरेको कार्यक्रमको अनुगमन तथा समीक्षा भएको छ ।
शुक्रबार धनगढी उपमहानगरपालिकाभित्र परियोजनाले गरेका कामहरूको संयुक्त अनुगमन गरिएको थियो ।
अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर बुढा, घरेलु तथा सीप विकास कार्यालयका प्रमुख कृष्णदेव भट्ट, कैलाली उद्योग वाणिज्य संघका सदस्य सुजितराज शर्मा, धनगढी उपमहानगरपालिका शिक्षा शाखा अधिकृत वीरबहादुर नेपाली, गैरसरकारी संस्था कैलालीका अध्यक्ष हेमकर्ण विक, धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक विष्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद, वेश कैलालीका कार्यक्रम संयोजक लक्ष्मण चौधरी, मर्सिकोर नेपालका सुमित्रा थारू लगायतको सहभागिता रहेको थियो ।
टोलीले देव तालिम केन्द्रमा सञ्चालन भइरहेको फाष्ट फुड तालिम, क्याम्पसरोडमा सञ्चालन भइरहेको ब्यूटीपार्लर तालिम, होजियारी उद्योगको अनुगमन गरेको थियो । यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित जनजागृति माविमा बालिका कक्षाको अनुगमनका साथै प्रधानाध्यापकसँग छलफल गरेको थियो ।
अनुगमनपश्चात आयोजित समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बुढाले परियोजनाले सञ्चालन गरेका कार्यक्रमहरू राम्रो रहेको तर, दिगो बनाउन तिर ध्यान दिनुपर्ने बताए । उनले परियोजनाबाट तालिम लिइरहेका व्यक्तिहरू रोजगार वा उद्योगी बनेको वा नबनेको बारे पनि निगरानी गर्नुपर्ने सुझाव दिए ।
परियोजनका कार्यक्रम संयोजक चौधरीले परियोजना २०१७ अप्रिलबाट शुरुवात भएको जानकारी दिए । परियोजना अहिले धनगढी उपमहानगरपालिका, टीकापुर, घोडाघोडी, गौरीगंगा नगरपालिका, बर्दगोरिया र कैलारी गाउँपालिका गरी छ वटा स्थानीय तहमा सञ्चालन भइरहेको बताए । परियोजनाबाट सिकाई, स्थानान्तरण र दिगोपना तीनबटा मुख्य उपलब्धीहरूमा केन्द्रित रहेको बताए । परियोजनाले पछाडि परेका समुदायहरूमा आधारभूत गुणस्तरीय सेवाको पहुँच पुर्‍याई तिनीहरूको जीवन स्तरमा सुधार ल्याई शोषण रहित समाजको सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार